Monday, 12 May 2025 | २०८२ ब‌ैशाख २९, सोमबार

नवलपरासीका मिटरब्याज पीडितले काठमाडौंमा थाले आन्दोलन

मिटरब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटरब्याज पीडितले काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । 

 

नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरुलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माईतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरुले आन्दोलन सुरु गरेका हुन् । साहू जगदीशका दाजुभाइसँग विदेश जान डेढ लाख रुपैयाँ ऋण लिएर पनि ६ वर्ष विदेश बसेर कमाएको १२ लाख रुपैयाँ दिँदा समेत अझै ऋण चुक्ता नभएको भन्दै पैसा माग्ने गरेको मिटरब्याज पीडित राज कुमारले बताए । 

 

उनले भएको जग्गा जमिनसमेत बेचेर पैसा तिरेको र अब तिर्न नसक्ने अवस्थामा पुगेकाले न्यायको लागि काठमाडौंमा आएको जनाए । ‘मलाई विदेश पठाउनको लागि बुबाले साहू महाजनसँग कर्जामा १ लाख ५० हजार रुपौया लिनुभएको थियो । डेढ लाख कर्जामा मैले विदेशमा गएर ६ वर्ष बसेँ तर ऋण पूरा गर्न सकेको छैन । मैले ६ वर्षको कमाई १२ लाख जति दिइसके । तर अझै पूरा भएको छैन पैसा देउ । हामीले जग्गा बेचेरसमेत पैसा दिन नसकेकाले न्यायको लागि काठमाडौंमा आएको छौं,’ राजकुमारले भने । 

 

त्यस्तै अर्का मिटर व्याज पीडित जयप्रकाश कुर्मी छोरालाई विदेश पठाउनको लागि पैसा आवश्यक भएकाले सुनिल बानियाँसँग १ लाख रुपौयाँ ऋण लिएको बताए । उनले बानियाँले १ लाख पैसा दिएर २ लाखको तमसुक बनाएको बताए । 

 

बानियाँलाई ५ लाख ५ हजार रुपैयाँ दिइसके पनि अहिले ८ लाख माग गरेको गुनासो गरे । जग्गा बेचेर भए पनि पैसा दिन दबाब दिएको तर आफूसँग ४ कठ्ठा १५ धुर मात्रै जग्गा रहेको पीडितले बताए ।

 

त्यस्तै अर्का पीडित रामसुरत गुप्ताले ऋण लिएको पैसा चुक्ता भयो भनेर तमसुक माग्दासमेत नदिएको बताए । उनले ऋण चुक्ता भएको कागज गरेर पनि आफूहरुको लेखाई नभएको भन्दै बाँकी पैसा माग्ने गरेकोसमेत बताए । 

 

गुप्ताले जनता मार अपराधीलाई कारबाही गरेर मात्रै जान काठमाडौं आएको बताए । आन्दोलनमा आएकाहरुले हजुरबुबाले लिएको ऋण नाती पुस्तासम्म तिर्दा नपुगेर साहुले जग्गा समेत कब्जा गरेर भूमिहिन भएको बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै