
सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ ।
२०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्र्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । उनले गत वर्षको माघ १४ बाट कोरोनाबिरुद्धको खोप अभियान शुरु गरेपछि चैत्र मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा राखेर अभियान शुरु गरिएको र अभियानमा सरकारले लगभग लक्ष्य पूरा गरेको बताए ।
सहप्रवक्ता अधिकारीले सरकारले यो बीचमा लगभग ९५ प्रतिशत खोपको पहिलो मात्रा लगाइसकेको जानकारी दिए । त्यस्तै ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा खोप लगाएको बताए । उनले आगामी दिनमा पनि कोरोनारिुद्धको खोप अभियान जारी रहने र खोपको दायरामा नआएका नागरिकलाई खोपको दायरामा ल्याइ खोप अभियानलाई पूर्णता प्रदान गर्नेतर्फ सरकार केन्द्रित रहेको स्पष्ट पारे ।
‘हामीले गत वर्षको माघ १४ बाट कोरोनाबिरुद्धको खोप अभियान शुरु गरेदेखि यो बीचको अवधिमा १८ वर्षमाथिको उमेरसमूहकालाई लक्षित वर्गमा राखेर अभियान सुरु गरिएको थियो । यद्यपि पछि १८ वर्ष भन्दा मुनिको १२ वर्षभन्दा माथिको उमेरसमूहलाई पनि लगाउन मिल्ने खोप पनि सिफारिस भयो । त्यसपछि खोप ल्याउने र लगाउने गरेका छौँ । लक्ष्यको कुरा जुन छ, हामीले त्यसमा खोप अभियान हेर्ने हो भने चैत मसान्तभित्र १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने भनेर हामीले लक्ष्य राखेका थियौं । लक्ष्य राखेअनुसार हामी अब ९० प्रतिशतभन्दा माथि ९४÷९५ प्रतिशत खोप एक मात्रा लगाइसकेको छ । पूर्ण मात्रा तोकिएको समयभित्र सबैलाई लगाउन सकेको भए राम्रो हुन्थ्यो । यद्यपि पूर्णमात्रा लगाउने जनसंख्या पनि ९० प्रतिशतकै हाराहारी पुग्न थालेको देखिन्छ । यसलाई हेर्दा हामीले लगभग लक्ष्य प्राप्ति गरेको भन्नुपर्ने हुन्छ । चैत ३० गतेपछि नै हाम्रो खोप अभियान पूर्ण रुपमा बन्द हुने होइन । संक्रमणबाट बच्नका लागि जतिसक्दो चाँडो बाँकी व्यक्तिहरुलाई खोपको दायरामा ल्याउनको लागि र खोप लगाएको व्यक्तिले दोस्रो मात्रा लगाउनको लागि हामीले यो अभियानलाई निरन्तर अघि बढाउनै पर्छ,’ अधिकारीले भने ।
सह प्रवक्ता अधिकारीले विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाबिरुद्धको खोप प्रयोग नगरेर खेर फालेको भन्ने समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताए । उनले हालसम्म सरकारले कोरोनाबिरुद्धका खोपहरु खेर नफालेको दाबीसमेत गरे ।
सहप्रवक्ता अधिकारीले सरकारले दुःख गरेर पाएको खोपलाई महत्वका साथ कसरी प्रयोग गर्न सकिन्छ भन्ने रणनीति बनाएर खोपलाई यथोचित प्रयोग गरिरहेको पनि बताए । उनले कोरोनाबिरुद्धका केही खोपहरुको मिति सकिन लागेको भन्दै त्यसलाई सकेसम्म प्रयोग गर्ने तरिकाले खोप नपुगेका स्थानमा म्याद सकिन लागेका खोपहरु लगेर खोप अभियान सञ्चालन गरिरहेको बताए ।
सहप्रवक्ता अधिकारीले सरकारले गत चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको र यही अभियानमा कोरोनाविरुद्धको खोपलाई पनि समावेश गरेर खोपको दायरामा नआएका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने काम जारी राखेको बताए ।
‘अहिले हेर्ने हो भने कोभिड १९ बिरुद्धको खोप प्राप्ति गर्ने, ल्याउने यो कुराहरु विश्वव्यापी चुनौति हामीले भोगेर आएका छौँ । खोप ल्याउन धेरै कठिनाइ छ । त्यस्तो अवस्थामा सरकारले प्राप्ति गरेको खोपलाई यथोचित तरिकाले हर महत्वका साथ कसरी प्रयोग गर्न सकिन्छ भन्ने रणनीति बनाएर प्रयोग गरिरहेको अवस्था छ । अहिलेसम्म कोरोनाबिरुद्धका खोपहरु खेर जान दिएका छैनौँ । केही दिनयता कोभिड १९ बिरुद्धका खोपहरु खेर गएका भन्ने कुरा आएका छन् । हामीसँग भएका केही खोपहरु म्याद गुज्रिने समयको नजिक नजिक आएका छन् । त्यसको बारेमा हामीले जानकारी राखिरहेका हुन्छाँै । हामीले एक ठाउँको खोपलाई अर्को ठाउँमा लगेर भनेपनि म्याद गुज्रिनभन्दा पहिले नै प्रयोगमा ल्याएर सर्वसाधारणलाई सहज हुने वातावरण बनाउँछौँ । खोप जति समय राख्दै गयो त्यति म्याद गुज्रिने सम्भावना हुँदै जान्छ । हामीले सबै तह र सबै स्वास्थ्य संस्थाहरुसँग, सबै निकायसँग समन्वय गरेर आम सर्वसाधारणलाई खोप अभियानमा सहभागिता जनाएर जागरुकता बढाएर खोपको कार्ययोजनाहरु अघि बढाएर जानुपर्छ । अहिलेसम्म खोप खेर गएको छैन । जुन म्यादभित्रमा खोप प्रयोग गर्नुपर्ने हो त्यो नै मितिमा खोप प्रयोग भइसकेको छ । हामीसँग रहेका केही खोपहरु अप्रिल महिनाभित्रमा लगाइसक्नु पर्नेछ । ती खोपहरुलाई टाइफाइड बिरुद्धको खोप अभियानमा पनि समावेश गरेर विभिन्न ठाउँबाट लगाइरहेका छौँ । एउटा भाँडोमा १० जना वा ६ जनालाई पुग्ने गरेर खोप आउँछ, अब त्यो खोप ६ घण्टाभित्रमा नलगाए नष्ट गर्नुपर्ने हुन्छ । त्यही पनि हामीले खोप लगाउन आउनेहरुलाई लगाएर नै पठाएका छौं,’ उनले भने ।
सह प्रवक्ता अधिकारीले नेपालमा रहेका कोरोनाबिरुद्धका केही खोपहरुको समय अप्रिल महिनासम्म रहेको भन्दै ती खोपहरुलाई बाँकी दिनमा सक्ने गरेर रणनीति बनाएको बताए । उनले कतिपय खोपहरु एकै प्याकमा ६ वा १० वटा आउने भएको र खोलेको ६ घण्टाभित्र सबै प्रयोग गरिसक्नु पर्ने हुन्छ तर खोप लगाउने मानिसहरु नहुँदा १÷२ वटा खोप प्रयोग भएपनि प्याकमा बाँकी खोप खेर जानसक्ने सम्भावना रहेको जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म लक्षित समूहभित्र रहेका एक करोड ९९ लाख २२ हजार १ सय ६४ वयस्कमध्ये एक करोड ८७ लाख २२ हजार ९०६ जनाले खोपको एक मात्रा लगाएका छन् भने १ करोड ६५ लाख ६३ हजार ३ सय ७० जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।
त्यस्तै लक्षित वर्गभित्र रहेका ३४ लाख २५ हजार ४०८ जना बालबालिका मध्ये ९२ प्रतिशत अर्थात् ३१ लाख ४५ हजार ४ सय ५१ जनाले खोपको एक मात्रा लगाएका छन् भने लक्षित संख्याको ७५ प्रतिशत अर्थात् २५ लाख ८४ हजार ३ सय २६ जनाले खोपको पूर्ण मात्रा लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस बाहे २३ लाख ७४ हजार ११ डोज अतिरिक्त खोप प्रयोगमा आएको र देशभर हालसम्म उपलब्ध ५ करोड ३३ लाख ८१ हजार ५ सय ७० डोज खोपमध्ये ४ करोड ५ लाख ८५ हजार ५ सय ५७ डोख खोप प्रयोग गरिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit