Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

बेलायतले सङ्कट र प्रकोपको समयमा महत्वपूर्ण सहयोग गरेको छ : ऊर्जामन्त्री भुसाल 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र  बेलायती राजदूत निकोला पोलिट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । 

 

 

मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकैबाट काम गरिरहने सरकारको प्रतिबद्धता रहेको बताएकी छन् ।

 

 

नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, ई–मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको–टुरिजम्को प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गरेकी छन् ।

 

 

महासागरका पारिस्थितिक प्रणाली सन्तुलन राख्न र बढ्दो भूमण्डलीय तापक्रम वृद्धि  नियन्त्रण गर्नका लागि हिमालयको महत्वपूर्ण भूमिका रहने स्मरण गराएकी छन् । 

 

 

‘हामी हिमालय क्षेत्रको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गर्दछौँ’ उनले भनिन् ।

 

 

ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्नका लागि आफूले जलासययुक्त आयोजना प्रवद्र्धनलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै उनले बूढीगण्डकी, दूधकोशी, नलगाढजस्ता आयोजनालाई आफूले प्राथमिकतामा राखेको बताएकी छन् । 

 

 

जलविद्युत स्वच्छ ऊर्जा भएकाले यसको प्रवद्र्धनका लागि नेपाल सरकारले प्राथमिकता दिएको र ऊर्जा क्षेत्रको विकासमा मिश्रित ऊर्जा उत्पादनमा ध्यान दिएको उनले बताएकी छन् ।

 

 

बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै मन्त्री भुसालले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्वपूर्ण सहयोग गरेको स्मरण गरेकी छन् । त्यस अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताएकी छन् ।

 

 

नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको उनले बताएकी छन् । ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उनले उल्लेख गरेकी छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै