Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

जर्मन सरकारद्वारा नेपाललाई ४१ लाख खोप हस्तान्तरण

जर्मन सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको ४१ लाख खोपको मात्रा हस्तान्तरण गरेको छ । 

 

मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत डा स्टेफन रसेकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त खोप हस्तान्तरण गरेका हुन् ।मन्त्री खतिवडालाई रसेकले कोभ्याक्स सुविधाअन्तर्गत ४१ लाख ४२ हजार २५० खोपको मात्रा हस्तान्तरण गरेका हुन् । तीमध्ये २१ लाख ७६ हजार ६५० मात्रा जोन्सन एण्ड जोन्सन र १९ लाख ६५ हजार ६०० मात्रा मोडर्ना रहेका छन् । 

 

हस्तान्तरण समारोहमा मन्त्री खतिवडाले जर्मनीले उपलब्ध गराएको खोपले सरकारको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताएका छन् । कोभिड–१९ को सुरुवाती अवस्थादेखि नै रोकथाम र नियन्त्रणमा जर्मन सरकारले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको भन्दै उनले आज उपलब्ध गराएको खोपले नेपाल र जर्मन सरकार बीचको द्विपक्षीय सम्बन्धमा आज अर्को इँट्टा थपेको बताएका छन् ।

 

‘कोभिड–१९ को परीक्षणसम्बन्धी सूचना व्यवस्थापन, स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनमा उपलब्ध गराइएको सहायतासमेत सराहनीय छ । जर्मन सरकारका तर्फबाट प्राप्त अन्य स्वास्थ्य उपकरण र  सामग्री उपयोगी छ’ उनले भने ।

 

नेपालमा स्वास्थ्यबीमाको सुरुवात र संस्थागत गर्न, अस्पताल तथा स्वास्थ्य संस्था निर्माण गर्न, स्वास्थ्य सूचना प्रणाली संस्थागत गर्न तथा समग्र स्वास्थ्य प्रणाली सदृढीकरणका लागि जर्मन सरकारले पु-याएको सहयोग स्वागतयोग्य रहेको पनि उनले बताएका छन् ।

 

जर्मन सरकारले कोभिड–१९ को सुरुवातदेखि सरकारलाई १० मिलियन यूरो बराबरको अनुदान रकम उपलब्ध गराएको थियो । सो अवसरमा नेपालका लागि जर्मनका कार्यवहाक राजदूत डा रसेकले जर्मन सरकारले नेपाललाई स्वास्थ्य र  शिक्षामा सहयोग गर्दै आएको भन्दै खोपले नेपाली जनतालाई कोभिड–१९ को महामारीबाट जोगाउने बताएका छन् ।

 

मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले मोडर्ना खोप यही पुस ४ गतेदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने बताएकी छन् । उनका अनुसार सरकारले ५७  जिल्लामा विद्यालयमा गई उक्त उमेर समूहका बालबालिकालाई खोप प्रदान गर्नेछ । यस्तै, जोन्सन एण्ड जोन्सन भने विदेश जाने र लक्षित अन्य व्यक्तिलाई लगाइने पनि जानकारी दिएकी छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै