
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बुद्ध जयन्तिको अवसर पारेर यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गरिने बताएका हुन् । उनका अनुसार विमानस्थलमा अब टर्मिनल बिल्डिङ निर्माण र रन वेको क्षमता बढाउने काम मात्र बाँकी छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै त्रिभुवन विमानस्थलमा ट्राफिक कम हुने अधिकारीको विश्वास छ ।
अधिकारीले अहिले न्यारोबडी र वाइडबडीका लागि धावनमार्ग तयार भएको बताए । अहिलेसम्म विमास्थलमा अन्तर्राष्ट्रिय उडानका लागि हालसम्म जजिरा एयरले अनुमति पाएको पनि उनले बताए । जजिराले अर्को हप्ताबाट टिकट बिक्री गर्ने सम्भावना छ ।
विमानस्थलमा बनाइएको नयाँ धावन मार्ग भने वैशाख ८ गतेबाट सञ्चालनमा आउनेछ । पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा
ल्याउन लागिएको हो । महानिर्देशक अधिकारीले बुद्ध, यति, श्री, गुण र सौर्य गरी ५ एयरलाइन्सले वैशाख ८ गतेदेखि आन्तरिक उडान शुरु गर्ने बताए ।
अधिकारीले दशैंसम्म पोखरा विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान सुरु हुने बताए ।
उनले भने, ‘पोखरा विमानस्थलको पनि भौतिक पूर्वाधारको काम लगभग सम्पन्न भएको अवस्था छ । त्यसमा दुई कुरा बाँकी छन् । हामी अबको १५ देखि २० दिनभित्रमा डाँडा कटानको काम शुरु गर्छौं । दुई महिनामा डाँडा कटान गर्ने लक्ष्य छ । ढिलोमा अंग्रेजी नयाँ वर्ष, नत्र दशैंमा हामी विमानस्थल सञ्चालन गर्नेछौँ ।’
कोरोना भाइरसको महामारीपछि बढ्न सक्ने पर्यटकको संख्यालाई ध्यानमा राख्दै सरकारले अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ ।
अधिकारीले अबको १० वर्षमा निजगढ विमानस्थल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । १० वर्षभित्र अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआए नेपालको समस्या पहिलाको जस्तै हुन सक्ने अधिकारीको भनाइ छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit