
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्ने बताएका छन् ।
यद्यपि त्यस किसिमको परिस्थितिको लागि नेकपा एमालेले भने उक्त क्षेत्रमा हार्ने निश्चितजस्तो हुनुपर्ने महतको भनाइ छ ।
शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन दलले कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शीर्ष तहमा सहमति गरिएको स्पष्ट पारे ।
कुनै ठाउँमा गठबन्धन दलहरुबीचमै आ–आफ्नो दाबी रह्यो भने त्यहाँ चुनावी प्रतिस्पर्धा हुने
प्रवक्ता महतले बताए ।
उनले भने, ‘कुनै ठाउँमा समझदारी हुन सकेन । त्यहाँ सबैको आ–आफ्नो दाबी रह्यो । मेरै त्यहाँ ज्याँदा शक्ति छ, मेरै जनाधार बढेको छ । हामीले नै जित्छौं । र, एमालेले जित्दैन भन्ने त्यस्तो स्थिति आयो भने त्यस्तो धेरै ठाउँमा आउन पनि सक्छ । त्यस्तो ठाउँमा फ्रेन्डली प्रतिस्पर्धा हुन पनि सक्छ ।’
प्रवक्ता महतले महानगरपालिका र उपमहानगरपालिका मेयर, उपमेयर बाहेकका सबै स्थानीय तहको उम्मेदवार सम्बन्धित कमिटीहरुकै गठबन्धनले तय गर्ने बताए ।
प्रवक्ता महतका अनुसार पार्टीको जारी केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा महानगरपालिकाका मेयर, उपमेयर तय गर्ने मोडालिटीको बारेमा छलफल भइरहेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit