
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन तथा महाधिवेशनको जिम्मा पुनः संरक्षक परिषद्का अध्यक्ष शेष घलेले पाएका छन् ।
शनिबार भएको सङ्घको ८१ औँ आइसीसी पूर्ण बैठकले विज्ञप्ति निकाल्दै घलेको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको जनाएको छ ।
महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बेपछि एनआरएनएको १०औँ महाधिवेशन स्थगन हुँदै आएको थियो । यसै विवादलाई समाधान गरी एनआरएनएको महाधिवेशन सम्पन्न गराउन घलेको संयोजकत्वमा समिति गठन गरेको हो । उक्त समितिमा ७ सदस्यहरु रहेका छन् ।
उक्त समितिमा पूर्वअध्यक्ष र वर्तमान अध्यक्ष कुमार पन्त सहित संस्थापक अध्यक्ष उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा रहेका छन् । यसका साथै उक्त बैठकले १०औँ महाधिवेशन तथा आइसीसी निर्वाचनको कार्यतालिका पनि तय गरेको छ
बैठकका अनुसार आगामी २८ फेब्रुअरीमा नयाँ आइसीसीको चुनाव गर्ने गरी यही जनवरी २६ सम्ममा महाधिवेशन प्रतिनिधिको नामावली संरक्षक परिषदमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय भएको छ ।
आइसीसीको यो निर्णयसँगै कुमार पन्त नेतृत्वको वर्तमान आइसीसी पुनः कामचलाउ भएको छ ।
यसअघि परराष्ट्र मन्त्रालयले पनि संरक्षक परिषद्लाई नै निर्वाचन र महाधिवेशन गराउने जिम्मेवारी दिएको थियो । तर, त्यसविरुद्ध पन्त अदालत गए पनि चुनाव गराउन नसकेपछि पुनः आइसीसीबाटै संरक्षक परिषद्लाई नै चुनाव र महाधिवेशन गराउने जिम्मेवारी दिएको हो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit