
संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को बैठकमा भाग लिन ब्रसेल्स पुगेका छन् ।
राष्ट्रपति बाइडेनले चीन र रसियाद्वारा अघि बढाइएका विवादित विषयहरुलाई प्रतिरोध गर्ने उपायको खोजी गर्न आफ्ना युरोपेली साझेदार मुलुकहरुसँग विचारविमर्श गर्नु हुनेछ । हाल ३० वटा मुलुक सदस्य रहेको नेटोसँग सम्बन्ध पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चिस्सिएको थियो ।
सोमबार हुने नेटो शिखर बैठकमा राष्ट्रपति बाइडेनले चीन र रसियाका अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न व्यापक समन्वयका लागि युरोपेली मुलुकहरुलाई आश्वस्त पार्नेछन् ।
बाइडेनले आर्थिक र राष्ट्रिय सुरक्षाका मामिलामा रसिया र चीनबाट भइरहेका हस्तक्षेप आफूहरुलाई स्वीकार्य नहुने पहिल्यैदेखि बताउँदै आएका छन् ।
बाइडेनले नेटो गठबन्धनको घोषणापत्रको धारा ५ मा व्यक्त अमेरिकी प्रतिबद्धताप्रति पुनः जोड दिनेछन् । यस धारामा कुनै पनि एक सदस्य मुलुकमाथि आक्रमण भए सबै सदस्य मुलुकमाथि आक्रमण भएको मान्यता राख्छ र त्यसको सामूहिक प्रतिबाद गरिने छ भन्ने उल्लेख छ ।
गत साता पनि बेलायतमा रहेका अमेरिकी सैनिकलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले नेटो गठबन्धन र धारा ५ प्रति अमेरिका पूर्ण प्रतिबद्ध रहेको बताएका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit