
अष्ट्रेलियाको क्रिकेट टोली २४ वर्षपछि विशेष विमानमार्फत पाकिस्तान पुगेको छ ।
पाकिस्तानसँग क्रिकेट सिरिज खेल्न ३५ सदस्यीय टोली चार्टर्ड विमानबाट इस्लामावाद विमानस्थलमा एक साताअघि अवतरण गरेको हो । टोलीलाई पाकिस्तान क्रिकेड बोर्डका निर्देशक जाकिर खानले स्वागत गरेका थिए ।
अष्ट्रेलियाले मार्च ४ देखि अप्रिल ५ सम्म तीन टेस्ट, तीन एकदिवसीय र एक टी २० आई खेल्नेछ, जसअनुसार पहिलो टेस्ट शुक्रबार रावलपिण्डीमा सुरु भइसकेको छ । पहिलो टेस्टको दोस्रो दिनको यो समाचार तयार पार्दा समयसम्ममा १ विकेट गुमाएर पाकिस्तानले २८४ रन बनाएको छ । इमाम उल हकले १४३ र अजहर अलिले ९२ रन बनाएका छन् ।
पाकिस्तान क्रिकेट बोर्डका सीईओ फैसल हसनैनले अस्ट्रेलियाको ऐतिहासिक पाकिस्तान भ्रमणले विश्वमा पाकिस्तानको सकारात्मक छवि चित्रण गर्ने बताए ।
रावलपिन्डी टेस्टअघि पत्रकार सम्मेलनमा उनले भने, ‘यो पाकिस्तान क्रिकेटका लागि ऐतिहासिक दिन हो र पाकिस्तानको सकारात्मक छवि सम्पूर्ण विश्वसामु चित्रित हुनेछ ।’ सिरिजको नतिजा जस्तोसुकै भए पनि क्रिकेटको जित हुने उनको भनाइ थियो ।
फैसलले पाकिस्तानी क्रिकेट फ्यानहरुले लामो समयदेखि अस्ट्रेलिया जस्तो ठूलो टोलीलाई आफ्नो देश भ्रमण गर्न र खेल्नका लागि पर्खिरहेको बताए । ‘फ्यानहरु २४ वर्षदेखि पर्खिरहेका थिए, उनीहरुले दुई ठूला टोलीहरुबीचको कडा प्रतिस्पर्धाको मजा लिनेछन्,’ उनले भने ।
क्रिकेट अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत निक हक्लीले अस्ट्रेलियाले पाकिस्तानमा न्यानो स्वागत पाएको र यसका लागि पीसीबी र क्रिकेट फ्यानहरुलाई धन्यवाद दिए । ‘यहाँको तयारी देखेर हाम्रो आत्मविश्वास अझ बढेको छ,’ उनले भने । अस्ट्रेलियन क्रिकेटर्स एसोसिएसनका सीईओ टोड ग्रीनवर्गले यहाँको सुरक्षा व्यवस्था उत्कृष्ट रहेको बताए । (एजेन्सीको सहयोगमा)
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit