Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

यस्तो छ सेना, प्रहरी र सशस्त्रको विपद व्यवस्थापनको पूर्व तयारी 

मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तिनवटै सुरक्षा निकायले बताएका छन् । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरुले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपदका घटना बढ्ने जानकारी प्राप्त भएकाले व्यवस्थापनका लागि पूर्ण रुपमा तयारी अवस्थामा रहेको बताएका हुन् । पूर्वतयारी, उद्दार, पुर्नस्थापना तथा राहतको काममा आफ्नो संयन्त्रलाई तयारी गरिएको उनीहरुले बताए । 

 

 

नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौड्यालले सेनाले विपद प्रतिकार्य योजना तयार पारेर काम शुरु गरिसकेको बताए । विपदको घटना बढी हुुने स्थानको नक्साङ्कन गरी आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको उनले बताए ।  

 

 

७७ वटै जिल्लामा भएका गण तथा गुल्महरुबाट १ तिहाईको जनशक्ति फौजलाई विपद व्यवस्थापनको लागि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । खतरायुक्त स्थानमा सेनासँग भएको आवश्यक स्रोत साधन सहित दक्ष जनशक्ति परिचालन गर्ने सेनाको तयारी छ । 

 

 

नेपाली सेनासँग तालिमप्राप्त दुईवटा विशेष युनिट छन् ।   ति युनिटलाई विपतको समयमा परिचालन गरिने जानकारी प्रवक्ता पौडयालले दिए । 

 

 

जलसम्बन्धी उद्दारका लागि २०० वटा वोटहरु तयारी अवस्थामा राखिएको पनि उनले बताए। विपदको समयमा आइपर्ने अत्यावश्यक सामग्रीहरु ओसार–पसार गर्न तथा उद्दार गर्नका लागि पश्चिममा सुर्खेतमा र पूर्वमा इटहरी वा विराटनगरमा हवाइ साधन तयारी अवस्थामा राख्ने पनि प्रवक्ता पौड्यालले बताए । 

 

 

विपद प्रतिकार्यका लागि नेपाली सेनाले गृह मन्त्रालय, विपद व्यवस्थापन प्राधिकरण लगायत सरोकारवाला विभिन्न निकायहरुसँग समन्वयमा काम गरिरहेको छ । नेपाली सेनालाई उद्दारमा जाँदा कोभिड–१९ संक्रमणको जोखिम रहेकाले काममा जाँदा स्वास्थ्य सम्बन्धी प्रोटोकल अपनाउन प्रयास गर्ने छन् । साथै सेनालाई कोभिड – १९ विरुद्धको खोपमा पनि जोड दिने उनले बताए । हालसम्म नेपाली सेनाका ५० हजार जवानले खोपको पहिलो मात्रा र २७ हजार जवानले खोपको दोस्रो मात्रा लगाइसकेको उनले बताए । 

 

 

त्यसैगरी सशस्त्र प्रहरी बलले पनि विपतको प्रतिकार्य गर्न आफ्नो तयारी पुरा भएको बताएको छ । सशस्त्र प्रहरी वलका प्रवक्ता राजु अर्यालले पूर्व तयारीका सम्पूर्ण काम पुरा गरीसकेको जानकारी दिए । 

 

 

केन्द्रीय कार्यालयबाट परिपत्र गरेर सबै युनिटलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको उनलेब बताए । खतरायुक्त ठाउँको नक्साङ्कन गरेर बाढी, पहिरो, डुबान के को जोखिम हो त्यसै अनुसार जनशक्ति परिचालन गरीएको उहाँले स्पष्ट पारे । 

 

 


सशस्त्रमा विपत व्यवस्थापनको तालिम लिएको जनशक्ति १९१८ जना छन् ।  सो जनशक्तिलाई प्रत्येक प्रदेशमा एक÷एक समुह, उपत्यकामा दुईवटा र विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा दुईवटा गरी १० वटा समुह परिचालन गरिएको उनले बताए । 

 

 


त्यसको अलावा उपत्यकासहितका ८ वटा बाहिनी, गण, गुल्म, विओपी स्तर र अन्य बेसहरुमा पनि विपद व्यवस्थापनको लागि समुह तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । 

 

 

तालिमप्राप्त ३७ जना गोताखोरलाई पनि तयारी अवस्थामा राखिएको छ । डुवानको अवस्थमा उद्दारका लागि ७० वटा वोटहरु तयारी अवस्थामा राखिएको र पहिरोका कारण राजमार्ग अवरुद्ध भएको खण्डमा अवरोध हटाउनको लागि १३ वटा हेभि इक्युपमेन्टहरु परिचालन गरिसकिएको उनले बताए । राजमार्ग अवरुद्ध भएर आपूर्तिमा असहजता हुनसक्ने कुरालाई ध्यानमा राख्दै पेट्रोल पम्पमा पेट्रोल, डिजेल भण्डारण पनि गरिएको बलका प्रवक्ता अर्यालले जानकारी दिए । 

 

 

नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवरले विपतको प्रतिकार्य गर्न नेपाल प्रहरीको माथिदेखि तलसम्मको संरचना सक्रिय भइसकेको बताए । 

 

 

प्रहरीले केन्द्रका विभिन्न निकाय र स्थानीय तहको विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय गरेर काम अगाडी बढाइसकिएकोउनले जानकारी दिए । विपतको समयमा प्रहरी संगठन भित्र रहेको साधन, स्रोतलाई अधिकत प्रयोग गर्ने स्पष्ट पारे। 

 

 

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको बताए । स्थानीय स्तरमा प्रहरी सरोकारवाला निकायहरु सँग समन्वय गरिरहेको उनले जानकारी दिए । मुख्य तथा सहायक राजमार्गहरुलाई अवरुद्ध हुन नदिन प्रहरीले ध्यान केन्द्रीत गरेको पनि प्रवक्ता कुँवरले बताए । 
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै