
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लमजुङ क्व्होलासोथर गाउँपालिका–३ मा रहेको घलेगाउँलाई सुखी गाउँ घोषणा गरेका छन् । शुक्रबार घलेगाउँ पुगेर ओलीले समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको यो गाउँलाई सुखी गाउँ घोषणा गरेका हुन् ।
दक्षिण एसियाकै नमुना गाउँको रुपमा चिनिएको यो गाउँ आधुनिक गाउँ र स्मार्ट भिलेका रूपमा अघि बढ्नुपर्ने ओलीले बताए ।
उनले भने, “घलेगाउँ घरवासले नयाँ ढङ्गले विकास गरेको छैन, अरुका लागि पनि उदारणीय बनेको छ, घलेगाउँबाट सिक्न जरुरी छ ।”
ओलीले घलेगाउँमा रहेको उत्तरकन्या प्राविलाई आधुनिकीरण र प्रविधियुक्त विद्यालय बनाउनुपर्ने बताए ।
क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले भने, ‘शहरमा पाउने सुविधा घलेगाउँ पाउन सकिन्छ । सडक, बिजुली, टेलिफोन, इमेल, इन्टरनेट, घरघरमा खानेपानी, शौचालय, विद्यालय, आधारभूत स्वास्थ्य सेवालगायतको सुविधा पुगेको छ । स्थानीयले पर्यटन विकास गरी सुखी भएको र आनन्दका साथ बसेकाले सुखी गाउँ भनिएको हो ।’
एक सय ३० घरधुरी रहेको यहाँ सबै एकै प्रकारको रातो रङको जस्ता पाताको छानो छ । विसं २०५७ वैशाख २३ गते प्रथम महोत्सव गरी घलेगाउँमा १२ घर होमस्टे गरिएकोमा अहिले ४२ घरमा होमस्टे छ ।
होमस्टेमा एकै प्रकारको आरामदायी कोठा छन् । सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायत आधारभूत सुविधापछि घलेगाउँ २०७६ साल मङ्सिर १७ गते स्मार्ट भिलेज घोषणा भएको थियो ।
गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ)ले नेपालकै उत्कृष्ट होमस्टेको रूपमा पुरस्कृतसमेत गरेको थियो । जिल्लाकै सबैभन्दा बढी पर्यटक यस गाउँमा आउने गर्दछन् । होमस्टे सञ्चालकले प्रतिमहिना ४० देखि ६० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
होमस्टे सञ्चालन गरिएको ४२ घरबाहेक अन्य घरका वासिन्दाले पर्यटकका लागि आवश्यक अन्न, तरकारी, फलफूल, मासु, अण्डालगायत उत्पादन र स्वरोजगारमा जीवनयापन गर्दै आएका छन् ।
केही चोया, ऊन, अल्लोलगायतबाट हस्तकलाका सामग्री तयार पार्छन् । केहीले व्यावसायिक पसल चलाएका छन् ।
भेडाको लागि गाउँलेको आफ्नै गोठ छ । घुम्ती पशुपालन र कृषिबाट पनि गाउँलेले आम्दानी गरेका छन् । केही वैदेशिक रोजगारीमा पनि छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit