Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्नेछ : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।

 

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने दाबी गरेका हुन् । 

 

उनले एमालेलाई निर्वाचन जित्न कसैको वैशाखी टेक्नु नपर्ने पनि दोहो¥याए । अध्यक्ष ओलीले आफूहरु प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थामा रहेकाले प्रतिस्पर्धा गर्न तयार रहेको उल्लेख गरे । अध्यक्ष ओलीले चुनावी प्रतिस्पर्धा स्वस्थ गर्नुपर्ने पनि बताए । 

 

अध्यक्ष ओलीले नेपालको राजनीति प्रतिगामी शक्ति र जनादेश चाहने शक्तिबीचको दुई ध्रुवमा रहेको बताए । उनले सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिगामी शक्तिको प्रतिनिधित्व गर्ने उल्लेख गरे । आफूहरु भने जनताको फैसला मान्ने जनपक्षीय शक्ति रहेको उनले जिकिर गरे । अध्यक्ष ओलीले एमालेबाट फुटेर जानेहरु पतित भएको संज्ञा दिए । 

 

‘ताजा जनादेशमा जाने कुरालाई प्रतिगामी भन्दै केही स्वार्थी तत्वहरु कम्युनिष्ट आन्दोलन ढाल्न, कमजोर पार्न, विभाजित गर्न र सिध्याउन लागे । उनीहरु पतित भए । हामीले देखेका छैनौँ पतन कसरी हुन्छ ? यो पनि पतन होइन भने के लाई पतन भन्छौँ हामी ? यो पनि कम्युनिष्टबाट यिनीहरु सिध्दिएका होइनन् भने कम्युनिष्ट केलाई भन्छौ त हामी ? कम्युनिष्ट पार्टी फुटाउने, कम्युनिष्ट सरकार ढाल्ने, प्रतिक्रियावादीहरु बोक्ने, प्रतिक्रियावादीको सरकार बनाउने, तिनका तलुवा चटुवा भएर, तिनका पछिपछि कुदेर यत्रायत्रा लोकपापका दुनाहरु बोकेर पापका दुनाहरु थाप्दै हिडेका छन् । मलाई पनि अलिकति प्रसाद भनेर थाप्दै हिडेका छन् । त्यस्तालाई पनि हामीले कम्युनिष्ट भनेर ठान्छौँ, त्यो गलत हो,’ उनले भने । 

 

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन अगाडी अखिल नेपाल महिला संघको सदस्य संख्या १० लाख पु¥याउनुपर्ने बताए । पार्टीको नीति, निर्णय र निर्देशनको पालना गर्दै गाउँ र टोल कमिटीसम्म संगठन विस्तार गर्न उनले निर्देशन दिए । ओलीले नेकपा (एमाले) मा पार्टी प्रवेशको लहर चलेको पनि जनाए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै