
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्युत गर्नुपर्ने अपरिहार्यता रहेको बताएका छन् ।
आज सर्वोच्च अदालतमा धर्ना दिनुअघि नेपाल बार एसोसिएसनको भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश जबरालाई पदच्युत गर्नुपर्ने अपरिहार्य अवस्थामा पुगिएको बताएका छन् । जबरा रहुञ्जेल न्यायपालिकालाई सुधार गर्न नसकिने भएकोले बारले राजीनामा माग गरिररहेको र राजीनामा नआएमा पदच्युत गर्नुपर्ने अवस्था आउनसक्ने पनि बताएका छन् ।
‘हामीहरु आफ्नो न्यायपालिका सुधारको लागि लागेका छौँ । न्यायपालिकाको बाधक चोलेन्द्र शमसेर जबरा जबसम्म रहन्छ, हामीले न्यायपालिका सुधार गर्न सक्दैनौँ । त्यसकारण प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य छ । राजीनामा मात्रै होइन अब त पदच्युत पनि गर्नुपर्ने अपरिहार्य अवस्थामा हामी पुगेका छौँ । जबरा जबसम्म पदच्युत हुँदैन, अरु सुधारको कार्यक्रम गर्न सकिदैनँ । जसले न्यायमा विचलन ल्याएको छ, जसले न्याय प्रशासनलाई बरबाद गरेको छ । जसले यो देशलाई बर्बाद गर्न खोजिराखेको छ, त्यस्तो व्यक्तिहरु न्यायपालिकामा रहन सक्दैनँ । कुनैपनि हालतमा राख्न सक्दैनौँ’ उनले भने ।
कानुन व्यवसायीहरुले धर्ना दिइरहेको समयमा सर्वोच्च परिसर बाहिर बार एसोसिएसनको विरोधमा केही व्यक्तिहरुले नाराबाजी गरेका थिए । लगत्तै बारको विरोधमा नाराबाजी गर्ने केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धर्नाको क्रममा बोल्दै श्रेष्ठले प्रधानन्यायाधीशले न्यायलयलाई किनबेचको बस्तु बनाएको बताएका छन् । शान्तिपूर्ण आन्दोलनलाई बिथोल्न बिचौलीयाहरु आएको भन्दै उनले बिचौलियाहरुको पनि सम्पति छानविन गरी जफत हुने चेतावनी दिएका छन् ।
‘चोलेन्द्र शमशेर जबराले प्रधानन्यायाधीशको सिटमा बस्ने अधिकार छैन । उहाँले अधिकार गुमाइसक्नुभएको छ । उहाँको प्रवेश न्यायपालिकालाई थप भ्रष्ट बनाउने हुन्छ । जबराले न्यायालयलाई किनबेचको वस्तु बनाएको छ । विचौलियाहरु होस् गर्नुस्, तपाईहरुले विचौलिया भएर जे कमाउनुभएको छ, त्यो कमाइको धन पनि छानबिन हुन्छ । तपाईहरुको सम्पति जफत हुने काम पनि सुरु हुँदैछ । छानविन हुँदैछ’ उनले भने ।
धर्नाको क्रममा कानुन व्यवसायीहरुले ‘भ्रष्टाचारी प्रधानन्यायाधीश राजीनामा दे, बार एकता जिन्दावाद, हाम्रो आन्दोलन जारी छ’ लगायतका नाराबाजी समेत गरेका थिए भने असक्षम र अनैतिक प्रधानन्यायाधीश राजीनामा दे, विधिको शासन कायम गर, न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीश राजीनामा देउ लगायतका प्लेकार्डहरु प्रर्दशन समेत गरेका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit