Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

प्रधानमन्त्रीको भ्रमणलाई शंकाले नहेरिदिनुहोस् : परराष्ट्रमन्त्री खड्का 

फाइल तस्वीर

परराष्ट्रमन्त्री डा.नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारीलाई शंकाको दृष्टिले नहेर्न आग्रह गरेका छन् । 

 


मंगलवार प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई शंकाका दृष्टिले नहेर्न आग्रह गरेका हुन् । उनले दुई पक्ष सम्बन्धलाई थप मजबुत बनाउन,आपसी सम्बन्धलाई गति प्रधान गर्न र सम्बन्धका नयाँ आयाम ल्याउनको लागि दुई देशको भ्रमण तथा छलफलहरु अपरिहार्य रहेको दाबी गरे । 

 


मन्त्री खड्काले दुई देशका बीचमा हुने भ्रमणले नेपालको सम्बन्ध विस्तार गर्न र देशको छवि बढाउन भूमिका खेल्ने बताए । उनले राजनीति तथा कुटनीति भ्रमण र भेटघाटको आयोजना गर्दा नेपालले अवलम्बन गर्दै आएको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई ध्यानमा राखेर गर्ने गरेको जिकिर गरे ।

 

उनले  उच्च राजनीतिक तथा कूटनीतिक तहमा भएका भ्रमण भेटघाटले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको पनि बताए ।

 

देउवाको अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको मन्त्री खड्काले बताए । उनले नेपालको स्वाधीनता, स्वतन्त्रतालाई ध्यान दिएर भ्रमण हुने भन्दै सरकार सार्वभौमसत्ता, स्वाधीनताप्रति गम्भीर रहेको बताए । 

 


मन्त्री खड्काले अमेरिकी सेनाका इन्डो प्यासिफिक प्रमुखको नेपाल भ्रमण ‘स्टेट पार्टनरशिप प्रोग्राम’ (एसपीपी) मा हस्ताक्षरका लागि नभएको पनि बताए । उनले एसपीपीमा हस्ताक्षर अर्थात अमेरिकी सैन्य गठबन्धन गर्ने विषय हल्ला मात्रै भएको दाबी गरे ।  

 

नेपाली कांग्रेस नेतृत्वको सरकार स्वाभिमानी,राष्ट्रवादी र देशभक्त सरकार भएको भन्दै मन्त्री खड्काले अहिले कुनै सैन्य गठबन्धन गर्ने आवश्यक नभएको बताए । 

 


मन्त्री खड्काले सांसदहरुलाई केही पत्रपत्रिकामा आएको हल्लाको पछि नलाग्नसमेत आग्रह गरे ।  

प्रतिक्रिया

सम्बन्धित समाचार सबै