Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नेपाली सेनाले ‘माउण्टेन ट्रेल रेस’ दौड संचालन गर्ने

नेपाली सेनाले दोश्रो लिस्तीकोट दुगुनागढी ‘माउण्टेन ट्रेल रेस’ दौड संचालन गर्ने भएको छ ।

 

 

नेपाल–तिब्बत लडाइको दौरान प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिष्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवस २०७८ को उपलक्ष्यमा फागुन २१ मा उक्त दौड सञ्चालन गर्न लागेको हो । निर्देशनालयका अनुसार पुरुषतर्फ प्रथम हुनेलाई १ लाख १० हजार रुपैयाँ पुस्कार राखिएको छ भने महिलातर्फ प्रथम हुनेलाई ६० हजार पुरस्कार राशी राखिएको छ ।

 

 

नेपाली सेनाको इतिहास तथा दुगुनागढी र लिस्तिकोटको ऐतिहासिक एवं धार्मिक महत्वलाई थप उजागर गर्ने उद्देश्य उक्त दौड सञ्चालन गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका तथा विभिन्न संघ संस्थाहरुको सहयोगमा भोटेकोशी गाउँपालिका ३ स्थित ड्राई पोर्टबाट नयाँ पुल हुँदै दुगुनागढीसम्म २४.५ कि.मि. राष्ट्रव्यापी दौड प्रतियोगिता गर्न लागेको निर्देशनालयले जानकारी दिएको छ । 

 

 

दुगुनागढीको ऐतिहासिक महत्व, लिस्तीकोटको धार्मिक तथा ऐतिहासिक महत्व, पर्यटकीय स्थलको रूपमा विकास, सैनिक नागरिक सम्बन्ध विस्तारको उद्देश्य सहित नेपाली सेनाको पहलतामा उक्त दौड प्रतियोगिता हुन लागेको निर्देशनालयले बताएको छ ।

 

 

यस दौड प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका जिल्ला प्रशासन कार्यालय लगायतका सरकारी निकायहरु, बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, व्यापार व्यवसायी तथा संघसंस्थाहरुसंगको समन्वय तथा साझेदारी रहेको निर्देशनालयले जनाएको छ ।

 

 

खेलमा स्वदेशी तथा विदेशी खेलाडीहरुले भाग लिने पाउने पनि व्यवस्था गरिएको निर्देशनालयले बताएको छ । यस प्रतियोगिता खुल्ला, महिला र सिन्धुपाल्चोक जिल्लावासी गरी तीन विधामा सञ्चालन हुनेछ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै