
नक्कली कर्मचारी खडा गरेर करोडौं रकम अपचलन गरेको पुष्टि भएपछि बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई जरिवाना तिराएको छ । समितिले रकम हिनामिना गरेको इन्स्योरेन्सलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
नक्कली कर्मचारी खडा गरेर इन्स्योरेन्सको करिब ३ करोड २ लाख रुपैयाँ रकम दुरुपयोग गरेको पाइएपछि जरिवाना गरिएको हो ।
समितिका प्रवक्ता राजुरमण पौडेलले छानबिन समितिले बुझाएको प्रतिवेदनमा बोर्ड बैठकको छलफलपछि बीमा ऐनअनुसार उक्त रकम जरिवाना लिने र कम्पनीलाई सचेत गराउने निर्णय भएको पर्दाफासलाई जानकारी दिए । ‘कम्पनीले कर्मचारीलाई हाजिर नगराएको तर रकम भुक्तानी गरेको पाइएपछि १० हजार रुपैयाँ जरिवाना गरेका हौं, सचेत पनि गराइएको छ,’ उनले भने ।
प्रवक्ता पौडेलका अनुसार नक्कली कर्मचारी खडा गरेर करोडौं रकम अपचलन गरेको र बीमा पोलिसी लगायतका विषयमा छानबिन गरिएको हो । बीमा समितिले निरीक्षण टोली पठाएर इन्स्योरेन्सको कागजात नियन्त्रणमा लिएको थियो ।
इन्स्योरेन्सलाई ३३ जना नक्कली कर्मचारी खडा गरेर उनीहरुको नाममा रकम भुक्तानी गरेको आरोप लागेको थियो । पर्दाफासलाई प्राप्त काजगपत्रमा ती कर्मचारीलाई सन् २०१९ जनवरीमा ४ करोड ३५ लाख रुपैयाँ भुक्तानी भएको पाइएको छ । इन्स्योरेन्स स्रोतका अनुसार ती व्यक्तिहरु कुनै समय इन्स्योरेन्समा जागिरका लागि अन्तर्वार्ता दिन पुगेका थिए ।
त्यस क्रममा उनीहरुले बुझाएको नागरिकता लगायत कागजपत्र र फोटोको दुरुपयोग गरी सिद्धार्थ बैंकमा खाता खोली इन्स्योरेन्सकै उच्च अधिकारीहरुले रकम हिनामिना भएको थियो ।
बिमकको संस्थागत सुशासनविपरीत काम गरेको भन्दै बीमा ऐन, २०४९ को दफा ३६ को उपदाफा १ बमोजिम इन्स्योरेन्सलाई कारबाही गरिएको हो । प्राइम इन्स्योरेन्सले यसअघि पनि नक्कली बीमालेख जारी गरेर पैसा अपचलन गर्ने गरेको पाइएको थियो ।
नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सम्पन्न भएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit