Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

कसरी ढल्यो इच्छाराजको साम्राज्य ? अर्बौं सम्पत्तिसहित श्रीमती कहाँ छिन् ? 

केही वर्षअघि रियलइस्टेटबाट उदाएर विभिन्न क्षेत्रमा हात हालेका व्यवसायी सुधीर बस्नेतको पतनको कथा धेरै थाहा होला । ‘पावर टु सक्सिड’ नाम राखेर किष्ट मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स स्थापना गरी बैंकिङ क्षेत्रमा राज नै गर्न थालेका कमल ज्ञवालीको नाम पनि धेरैका लागि परिचित नै छ । उनी घरजग्गातर्फ लगानीबाट आफू मात्र डुबेनन्, धेरैको लगानी डुब्यो, बैंक नै धराशयी भयो ।

 

यस्तै, तीव्र महत्वाकांक्षाले अर्का एक व्यवसायीको पनि साम्राज्य पतनको क्रममा पुगेको छ । तिनी हुन्, रियलस्टेट कारोबारी इच्छाराज तामाङ ।

 

०००

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा अहिले चर्चित रियलइस्टेट कारोबारी इच्छाराज तामाङ छन् । उनको परिचय यतिमा मात्र सीमित छैन । उनी बैंकर, व्यवसायी र पूर्वसांसद पनि हुन् । 

 

 

ओखलढुंगाका तामाङले रुसमा सिभिल इन्जिनियरिङ पढे । घरजग्गा व्यवसायमा हात हाले । सिभिल होम्समार्फत अपार्टमेन्ट तथा हाउजिङ बनाए । त्यसबाट सफलतासँगै उनले सहकारी, बैंक, मल लगायतमा लगानी गरे । विस्तारै उनी सफल र उदाहरणीय व्यवसायीको रुपमा चर्चित हुँदै गए ।  

 

 

तर, तीव्र महत्वाकांक्षाले निर्माण गरेका हाउजिङ परियोजना विक्री हुन नसकेपछि भने उनी धराशायी हुन थाले । उनले सहकारी, बैंक तथा वित्तीय संस्थाबाट ठूलो रकम लिएर घरजग्गा व्यवसायमा लगाएका थिए । त्यहाँ घाटा लाग्नेबित्तिकै उनले आफ्नै सहकारीबाट लिएको ऋण तिर्न सकेनन् । समयमै निक्षेपकर्ताले रकम नपाएपछि उनीमाथि ठगीको आरोप लाग्यो । 

 

यसरी सुरु भयो पतन 

 

तामाङले आफ्नै सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताहरुको रकम चलाएर हिनामिना गरेका हुन् । तामाङले संस्थाको ७ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ आफ्नो निजी पैसा जस्तो गरी चलाएर हिनामिना गरेको पाइएको छ । 

 

आकर्षक ब्याज दिने प्रलोभनमा पारेर संस्थाले निक्षेपकर्ताबाट रकम उठाएको थियो । बजारमा चलेको भन्दा बढी ब्याज दिने भएपछि धेरै व्यक्तिले लाखौं रुपैयाँ संस्थामा राखेका थिए । 

 

त्यसमाथि १५ लाख रुपैयाँसम्म राखेमा अपार्टमेन्ट लगायत पाउने प्रलोभनमा पारिएको एक पीडितले बताए । ‘त्यस्तो रकम ३ वर्षसम्म चलाउन पाइँदैनथ्यो,’ उनले भने, ‘दुःख गरी कमाएको रकम अहिले पाउन नसकेर सास्ती खेप्नुपरेको छ ।’

 

अर्का एक पीडितका अनुसार निक्षेपकर्ताहरुको भीड लागेपछि संस्थाले १०/१५ हजार गरेर रकम फिर्ता गर्न थालेको थियो । ‘एउटै व्यक्तिले करोडसम्म राखेका छन्, केही हजार रुपैयाँ किस्तामा पाएर कहिले त्यत्रो रकम फिर्ता पाउने ?’ उनले भने । 

 

उनका अनुसार संस्थामा अवकाशप्राप्त कर्मचारी, बुढाबुढी, बिरामीलगायतले रकम जम्मा गरेका थिए । ‘कति जना बचतकर्ता ६५ देखि ९५ वर्षसम्मका छन् । कति जना बचतकर्ता बिरामी भएको बेला अपरेसन गर्न र औषधि किन्न नपाएर मरिसके,’ ती पीडितले भने । 

 

सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ सिभिल होम्सको सञ्चालकको पदमा छन् ।  तामाङ र श्रेष्ठ नाताले भान्जी ज्वाइँसमेत हुन्, जसका कारण तामाङलाई सहकारीको पैसा चलाउन सहज भएको हो । 

 

 

तीन कम्पनीका लागि ऋण
 

 

तामाङले सिभिल ग्रुद्वारा प्रवर्द्धिधत सिभिल बचत तथा ऋण सहकारी संस्थाबाट आफ्ना तीन कम्पनीका लागि उक्त ऋण लिएका हुन् । सहकारीमा दुई हजार ६ सय ९० सदस्य सदस्य छन् । 

 

सहकारीको आव २०७४/७५ को अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाले आठ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि, सिभिल इस्टेट प्रालिमा गरी सात अर्ब ४३ करोड रुपैयाँ लगानी गरिएको छ ।

 

सम्पत्ति शुद्धीकरणको रोक्का 
 

 

२०७६ माघमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङको सम्पत्ति छानबिनका लागि रोक्का गरेको थियो । धेरै सम्पत्तिको स्रोत खुल्ने आधार नभेटिएपछि रोक्का गरिएको हो ।

 

अनुसन्धानको क्रममा विभिन्न २४ वटा कम्पनीमा उनको लगानी देखिएको थियो । सिभिल होटेल, सिभिल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, कोत्से भैरव बहुउद्देश्यीय कम्पनीलगायत कम्पनीको सेयरसमेत विभागले रोक्का राखेको थियो । सिभिल बैंकबाहेक अरू सबै कम्पनी घाटामा देखाएर करसमेत तिरिएको थिएन । 

 

उनले श्रीमतीको नाममा संस्थापक सेयर राष्ट्र बैंकको नियमविपरीत करिब १० करोड रुपैयाँबराबरको बिक्री गरेका थिए । श्रीमान् बैंककै अध्यक्ष भएको अवस्थामा सो सेयर बिक्री गर्न नपाइने व्यवस्था छ । 

 

 

सम्पत्ति बेचे, तर पीडितलाई दिएनन्

 

 

आर्थिक संकटमा परेपछि तामाङले आफ्नो सम्पत्ति विक्री गर्न थालेका थिए । उनले सुन्धाराको आर्मी अफिसर क्लब अगाडिको सीटीसी मल र चाइना टाउनछेउको जेडीए कम्प्लेक्स बिक्री गरेका थिए । 

 

तामाङले उक्त सम्पत्ति १ अर्ब ३० करोड रुपैयाँमा व्यवसायी अजयराज सुमार्गीलाई बिक्री गरे । अपार्टमेन्ट विक्री हुन नसकेपछि सिभिल ग्रूपले होटल बनाउने तयारी गरेको थियो । तर, होटलमा थप लगानी गर्न नसकेपछि तामाङले सस्तो मूल्यमै जेडीए कम्प्लेक्स बिक्री गरे । कम्प्लेक्स रहेको ६ रोपनी जग्गामा १२ तलाको अपार्टमेन्ट छ ।

 

सम्पत्ति बेचे पनि तामाङले पीडितको रकम भने नदिई भागीभागी हिँडिरहेका थिए । 

 

श्रीमतीको नाममा अर्बौं सम्पत्ति
 

 

सीआईबीले तामाङलाई पक्राउ गरेपछि उनको श्रीमती भने फरार छिन् । श्रीमतीसँग उनको डिभोर्स भए पनि अंशवण्डा गरेर श्रीमतीको नाममा घरजग्गा राखेको पाइएको छ । 

 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार उनकी श्रीमती सिर्जना शाक्यका नाममा कीर्तिपुरमा १५ रोपनी जग्गा भेटिएको छ । कीर्तिपुर नगरपालिका–१ ट्याङलाफाँटस्थित कम्पाउन्ड घेरेको उक्त जग्गामा घर पनि छ ।  

 

आफू विभिन्न समस्यामा पर्दै गएपछि तामाङले श्रीमतीसँग डिभोर्स गरी सम्पत्ति सुरक्षित गरेका थिए । श्रीमतीसहित अरु आफन्तको नाममा अरु पनि सम्पत्ति हुन सक्ने भन्दै सीआईबीले अहिले छानबिन गरिरहेको छ । 

 

अनुसन्धान अन्तिम चरणमा 
 

 

सीआईबीले तामाङविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । तामाङसहित १२ जना पक्राउ परेको ४० दिनभन्दा बढी भइसकेको छ । हालसम्म साढे ५ अर्ब बिगो दाबीसहित १४ सय ११ उजुरी आइसकेको सीआईबीका सहायक प्रवक्ता डीएसपी सुकदेव खनालले पर्दाफासलाई जानकारी दिए । 

 

‘उनीहरुको आफन्तसँग भएको सम्पत्ति विवरण पनि खोजिरहेका छौं, अनुसन्धान अन्तिम चरणमा पुगेको छ । केही दिनमा नै अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई बुझाउँछौं,’ उनले भने । 

 

प्रहरीले संगठित मुद्दामा उनीहरुविरुद्ध अनुसन्धान गरिरहेको हो । पक्राउ पर्ने अन्य व्यक्तिमा सिभिल सहकारीको सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवान बहादुर सिंह, जुनियर असिस्टेन्ट म्यानेजर मायोनानी महर्जन छन् । 

 

यस्तै जुनियर असिस्टेन्ट म्यानेजर एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिस्टेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ पनि पक्राउ परेका छन् । जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजय विक्रम शाह, पूर्व लेखा समिति सदस्य हरिहर लामिछानेलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

1
  • pphrycbptn

    मङ्सिर २३, २०७८

    कसरी ढल्यो इच्छाराजको साम्राज्य ? अर्बौं सम्पत्तिसहित श्रीमती कहाँ छिन् ?  - Pardafas pphrycbptn http://www.g0xeo248w599ptkgub8m41y19z7fw410s.org/ apphrycbptn [url=http://www.g0xeo248w599ptkgub8m41y19z7fw410s.org/]upphrycbptn[/url]

प्रतिकृया थप्नुहोस्
  • pphrycbptn

    मङ्सिर २३, २०७८

    कसरी ढल्यो इच्छाराजको साम्राज्य ? अर्बौं सम्पत्तिसहित श्रीमती कहाँ छिन् ?  - Pardafas pphrycbptn http://www.g0xeo248w599ptkgub8m41y19z7fw410s.org/ apphrycbptn [url=http://www.g0xeo248w599ptkgub8m41y19z7fw410s.org/]upphrycbptn[/url]

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख १० लाख रुपैयाँ घुस रकमसहित पक्राउ 

मकवानपुरको हेटौंडाबाट १० लाख रुपैयाँ घुस रकमसहित विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख  इन्जिनियर पक्राउ परेका छन् ।

कार्तिक २७, २०७८