Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

विप्लव माओवादी केन्द्रमा नै फर्किन्छन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन् । 


शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेत्रविक्रम चन्द (विप्लव) माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका हुन् । 


उनले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग आफ्नो संवाद भइरहेको बताउँदै मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई लगायतका सबै  मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताएका छन् । 


उनले आराम गर्दै, रमाइलो मान्दै जस्तो गरेर माओवादी क्रान्तिलाई अघि बढाउन नसकिने बताउँदै समाजवादतर्फ इमान्दार हुने कम्युनिष्टहरु ढिलोचाँडो पुरानो घरमा फर्किएर आउने पनि बताएका छन् ।


‘म यो मञ्चबाट भन्न चाहन्छु ढिलोछिटो, विप्लवजी पनि आउनुहुन्छ भनेर विश्वास पनि व्यक्त गर्न चाहन्छु । अलग बसेर होइन, हामी सबै एक ठाउँमा केन्द्रित भएर मात्रै नेपाली क्रान्तिलाई अझ मौलिक तरिकाले नयाँ अध्ययन अनुसन्धान गरेर, नयाँ रणनीतिसहित अगाडि लान सकिन्छ, कुनै रोमान्स जस्तो गरिकन लैजान सकिँदैन’ उनले भने ।


‘त्यसकारण मलाई विश्वास छ अहिले कुराकानी पनि चलिरहेको छ, किरणजीहरु, बाबुरामजीहरु, विप्लवजीहरु र अरु समाजवादी आन्दोलनप्रति, समाजवादी क्रान्तिप्रति इमान्दार हुने सबै कम्युनिष्टहरु फेरि एकपटक एकतावद्ध हुनैपर्छ, मलाई विश्वास छ, हामीले धेरै ठूलो संघर्ष र बलिदानपछि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपाललाई ल्याएका छौँ, हामी जानु अझ धेरै टाढासम्म छ, त्यो यात्रा हामी सबैले आपसमा हातेमालो गरेर मात्रै पार गर्न सकिन्छ, एक्लै पार गर्छु भन्यो भने त्यसको नियत जे सुकै भए पनि नियति क्षतविक्षत हुनु बाहेक अर्को हुँदैन’ उनले भने ।


उनले एकै युग र एउटै कालखण्डमा धेरै प्रचण्ड हुन नसक्ने बताउँदै एउटा समयमा जनता, आन्दोलन, समय र संघर्ष, सही विचार र बलिदानबाट मात्रै प्रचण्ड पैदा बताएका छन् । 


‘कसैले चाहँदैमा लहर चल्दैमा क्रान्ति हुने पनि होइन, फेरि प्रचण्ड भन्ने कुरा प्रचण्डले जन्माएको होइन, नेपाली जनताले जन्माएको, तपाईं हामी सबै लडेर निर्माण गरेको हो, प्रचण्ड व्यक्ति होइन, फेरि एउटै युगमा, एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैन, थुप्रै लेनिन, माओ हुने हुँदैन, एउटा समय र एउटा कालमा जनताले पैदा गर्ने हो, आन्दोलनले, संघर्षले, बलिदानले प्रदान गर्ने हो, सही विचारले पैदा गर्ने हो, सही निर्णयहरुले पैदा गर्ने हो, त्यो पैदा गरेको कुरालाई वर्ग संघर्षले र प्रतिक्रियावादीले सिध्याउन खोज्छन्, जनताले त्यसलाई बचाउन खोज्छन्, आज तपाईंहरु क्रान्तिको रक्षाको निम्ति, क्रान्तिका उपलब्धिको रक्षाका निम्ति, माओवादी आन्दोलनको रक्षाका निम्ति, प्रचण्डको रक्षाका निम्ति तपाईंहरु आउनुभएको छ, म हृदयदेखि तपाईंहरुलाई धन्यवाद दिन्छु’ उनले भने ।

 

उनले प्रतिक्रियावादीहरु माओवादी क्रान्तिको उपलब्धि उल्ट्याउने षड्यन्त्रमा लागिपरेको पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

जीवनभर सम्पत्तिको रास, बुढेसकालमा कारागारको बास

बस्न्यातको अकूत सम्पत्तिको बारेमा अख्तियारले अनुसन्धान गरे पनि उनीविरुद्ध मुद्दा भने दायर गरेन । अख्तियारका निवर्तमान प्रमुख नवीन घिमिरे नेतृत्वले बस्न्यातको अकूत सम्पत्त...

कार्तिक २६, २०७८