
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितताबारे छानबिन गर्न बनेको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासहितको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन बुझाएपछि स्वास्थ्यमन्त्री खतिवडाले अबको हप्ता दिन भित्र प्रतिष्ठानको समस्या समाधान हुने बताए । उनले यो प्रतिवेदन यसअघिका प्रतिवेदन र आन्दोलनरत पक्षका कुराहरुलाई छलफल गरेर बनाइएको जनाए ।
स्वास्थ्यमन्त्री खतिवडाले हप्ता दिनमा प्रधानमन्त्रीले सिनेटको बैठक बोलाउने र बैठकबाटै निर्णय गरिने जानकारी पनि दिए । उनले सिनेटले प्रतिवेदनमा पेश भएको कुरालाई आधार मानेर नै निर्णय लिने बताए ।
‘बीपी कोइराला प्रतिष्ठानलाई लिएर आयोग बन्नुको अर्थ नै त्यहाँ केही न केही समस्या थियो भन्ने पुष्टि हुन्छ, ३ सदस्यीय आयोग बनेको थियो, जसमा यस मन्त्रालयका सचिव र धरान नगरपालिकाका मेयर, मेरो अध्यक्षतामा कुलपति प्रधानमन्त्रीले गठन गर्नुभएको थियो, हामीलाई २१ दिनको समय दिइएको थियो, ५ गते हामीले प्राप्त गरेका थियौँ, त्यही हिसावले २१ दिनभित्रै हामीले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायौँ, हामीले यो प्रतिवेदन तयार गर्ने क्रममा धरानस्थित प्रतिष्ठानमै गएर आन्दोलनरत पक्षहरु, त्यहाँका जसको बिरुद्धमा आन्दोलन भएको थियो ती पदाधिकारीहरु, शिक्षक र विद्यार्थीहरु, कर्मचारी, धरान नगरपालिकाको हलमा मेयरसहित जनप्रतिनिधि, विभिन्न राजनीनितक दलका प्रतिनिधिसँग हामीले उहाँहरुका विषयवस्तुलाई समेटेर, स्पष्टीकरणको पूर्ण अवसर दिएर प्रतिवेदन बनाएका छौँ,’ उनले भने ।
‘नियमावली अनुसार बैठक बोलाउनु पर्ने अवधि ५/७ दिनको समय दिएर सिनेटको बैठक बोलाउँछौँ, प्रधानमन्त्रीजीले बोलाउनु हुन्छ, त्यहीबाट नै यस प्रतिवेदनलाई आधार मानेर हामी निर्णयमा पुग्छौँ, २५ प्रतिशत सदस्य अर्थात् ६ जनाले त्यहाँ भइरहेका अनियमितताको बारेमा छानबिनको माग गरेपछि आयोग गठन भयो, प्रतिवेदन बुझाउँदा यो भन्दा अघिका प्रतिवेनलाई पनि आधार मानेका छौँ,’ खतिवडाले भने ।
प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले शैक्षिक, आर्थिक प्रशासनिक र स्वास्थ्य सेवा सुधार हुनुपर्ने, अनियमितताको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै चार महिनायता निरन्तर आन्दोलन गरिरहेका छन् । आन्दोलन थप चर्किंदै गएपछि सरकारले वार्ता टोली गठन गरेर आन्दोलनकारीको माग सम्बोधन गर्ने सहमति गरेको थियो ।
नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुला भएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit