
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न आग्रह गरेको छ ।
कोभिड १९ संक्रमणका बिरामीको संख्या बढेसंगै विभिन्न संघसंस्थाहरुले आइसोलेसन सेन्टर खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विनाका आइसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ ।
ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डर लगायत सामग्री राखेर आइसोलेसन सेन्टर खोल्ने होडबाजी जस्तो नै चल्न थालेपछि मन्त्रालयले जथाभावी आइसोलेसन सेन्टर नखोल्न सचेत गराएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले आइसोलेसन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मीहरु, उपचारमा चाहिने उपकरणहरु, औषधीहरु र क्रिटिकल केयरका लागि लैजाने अस्पतालहरुको समन्वय, प्रत्यक्ष निगरानीको सुनिश्चितता गर्न सुझाव दिए ।
उनले सामान्य भौतिक पूर्वाधारको व्यवस्थामात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने गरी बनाइएका आइसोलेसन केन्द्रहरु स्वास्थ्यका हिसाबले अर्को घातक हुनसक्ने चेतावनी दिए ।
‘पछिल्लो समय आईसोलेसनको नाममा मानिसहरु जम्मा गरेर बस्न मिल्ने ठाउँहरु धेरै व्यवस्थापन गर्न खोजिएको देखिन्छ । तर आफ्नो घरको छुट्टै कोठामा बस्नुभन्दा उपयुक्त अर्को ठाउँ कहीँ पनि हुँदैन । स्वास्थ्य जटिलता, अलिकति गाह्रो भयो भने हामीले मापदण्ड पालना गर्न नसक्ने गरी बनाइएका आइसोलेसन केन्द्रहरु चाहिँ स्वास्थ्यका हिसाबले अर्को घातक हुनसक्छ कि भन्ने डर छ,’ उनले भने ।
उनले टोल टोलमा आइसोलेसन सेन्टरका नामम स्वास्थ्य सामग्रीहरुको ठूलो खपत हुने र वास्तविक आवश्यक पर्ने अस्पतालहरुमा उपचार सामग्रीको अभाव हुन सक्ने स्थिति सृजना भएकाले आफूहरु चिन्तित बनेको बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit