
सरकारले मेलम्ची–हेलम्बु क्षेत्रका बाढीपीडित नागरिकलाई प्रतिपरिवार ५० हजारका दरले सहयोग गर्ने भएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित पालिकाहरूलाई राहत कोष तथा सामग्री हस्तान्तरण गरे ।
हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित पालिकाहरूलाई राहत कोष तथा सामग्री हस्तान्तरण गरेका हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ३६६ घरपरिवारलाई रु ५० हजारका दरले जम्मा एक करोड ८३ लाख सहयोग हस्तान्तरण गरिएको हो ।
मेलम्ची खानेपानी आयोजनाबाट हेलम्बु गाउँपालिकालाई रु दुई करोड ५० लाख, मेलम्ची नगरपालिकालाई रु एक करोड ३६ लाख, पाँचपोखरी थानपाल गाउँपालिकालाई रु दुई करोड र इन्द्रावती गाउँपालिकालाई रु १५ लाख बराबरको तारजाली हस्तान्तरण गरिएको हो ।
त्यसैगरी साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडबाट एक हजार ५०० बण्डल जस्तापाता उपलब्ध गराइएको छ । त्यसैगरी निर्माण व्यवसाय प्रवद्र्धन कोषबाट हेलम्बु गाउँपालिकालाई रु छ लाख र मेलम्ची नगरपालिकालाई रु चार लाख सहयोग घोषणा गरिएको छ ।
प्रधानमन्त्री ओली र धर्मपत्नी राधिका शक्य, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, पूर्वमन्त्री शेरबहादुर तामाङ, सम्बन्धित मन्त्रालयका सचिव तथा प्रतिनिधिसहितको टोलीले स्थलगत भ्रमण गरेको थियो ।
मेलम्ची बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले जनताका समस्या तथा असुविधाहरुको सम्बोधन गर्नुपर्नेमा त्यही समस्या र पीडालाई राजनीतिक व्यापारको रुपमा प्रयोग गर्ने गरिएको पाईएको भन्दै त्यसकिसिमको काम नगर्न सबैलाई सचेत समेत गराए ।
उनले भने 'सरकार भनेको हाम्रो हो र सरकारको पैसा भनेको हाम्रो हो भनेर बुझिदिनुपर्छ । यहाँ समस्या पर्छ यहाँ खर्च गर्नुपर्छ । अर्को ठाउँमा समस्या पर्दा अर्को ठाउँमा खर्च गनुपर्छ । एउटा प्रवृत्ति के छ भने मुआब्जा भनेपछि सरकारले कुनै काम गर्न , विकास निर्माण गर्न खोज्यो भने स्थानीय जनताबाट मुआब्जा यति बढाईदिने कि अनुचित ढंगले बढाईदिने कि त्यो आयोजना महंगो पर्ने । भरे आफैले उपभोग गर्ने कुरा हो । आफ्नै अर्थतन्त्रमा असर पर्ने कुरा हो । महंगीको मार सबैतिर पर्छ । त्यसकारण हामीले सरकार आफ्नो हो । सरकारंग भएको रकम आफ्नो हो । सरकारी पैसा खुरुखुरु लुट्ने छाडातन्त्र हुन्छ र ? करप्सन कहीँ छदै छैन म भन्दिनँ तर हामीले करप्सन कहीँ फेला पार्यौ भने कुनै मोलाहिजा नगरिकन करप्सन गर्नेहरुमाथि कडा कारवाही हाम्रो हुन्छ । हल्ला गर्नेहरुलाई काम गर्न परेका छैन । जनतालाई परेका असुविधा, पीडाहरुमा राजनीतिक व्यापार गर्ने कुरा हो र ? मैले कहीँ कहीँ अत्यन्तै छुद्र राजनीति गरेको देख्छु ।'
बाढी प्रभावित स्थानमा तत्काल गर्नुपर्ने काम र दीर्घकालिन काम बारे योजना बनाई कार्यान्वयन गर्नका लागि आफु सबै सरोकारवाला निकायका पदाधिकारी संलग्न टीम सहित त्यहाँ पुगेको पनि प्रधानमन्त्रीले बताए । पुर्ननिमाणको कामलाई ठिक ढंगले र प्रभावकारी ढंगले शिघ्र अघि बढाउने संकल्पका साथ आफु टिम सहित पुगेको पनि उनले स्पष्ट पारे । उनले पुर्न निर्माणका कामहरुलाई योजनावद्ध र तिब्रताका साथ अघि बढाउने प्रतिवद्धता जनाए ।
उनले भने 'अहिलेको राजनीतिक परिस्थिति साथीहरुलाई थाहा छ । यदि जनताका समस्याहरुलाई अरु कुराहरु भन्दा बढी महत्व दिनुपर्छ भन्ने नठान्ने हो भने आउन सक्ने स्थिति अहिले पनि होइन । तर म किन आएँ भने जनताका समस्या सबैभन्दा ठूलो कुरा हो र जनताका समस्या समाधान गर्नु प्रमुख कर्तव्य हो । अरु कुरा जे सुकै होस् । त्यसकारण म यहाँहरुका बीचमा आएको छु ।'
जनता, संघसंस्था र सरकार मिलेर यस्ता विपद्मा परेकालाई राहत तथा उद्धारमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए । दुईवटा चाउचाउ दिएर प्रचारप्रशार बढी गर्ने गरिएको उल्लेख गर्दे उहाँले देखाउन नभई कठिनाई घटाउनका लागि सहयोग गर्नुपर्ने तर्फ सबैलाई सचेत गराए । स्थानीय निकाय वा संघ संस्थासंग प्रभावितहरुका लगत रहेको र त्यही लगतको आधारमा आवश्यकताको सिद्धान्त अनुसार राहत वितरण गरिने हुँदा स्थानीय निकायलाई नै राहत उपलब्ध गराउन दाताहरुलाई आग्रह गरे ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit