Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा भेटियो

करिब दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवाको शव समुद्रमा भेटिएको छ ।

 

नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो । सिलवालको शव करिब दुई महिनाअघि समुद्रमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए । 

 


उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको भए पनि शवको पहिचान भने बिहीबारमात्रै खुलेपछि प्रहरीले खबर गरेको अधिकारीले बताए ।

 

 

प्रहरीले दिएको जानकारीअनुसार सिलवालको शव राजधानी लिस्बन नजिकै पर्ने पासो डि आर्कोसस्थित समुद्रमा डुबेको अवस्थामा भेटिएको हो । उनको शव कासकाइसस्थित अस्पतलाको शवगृहमा राखिएको छ ।

 

 

सो घटनाका विषयमा उनको परिवारलाई जानकारी गराइएको र परिवारले शव नेपाल पठाइदिन आग्रह गरेको अधिकारीले बताए ।

 

 

बेपत्ता भएका सिलवालको खोजीकार्यका लागि सङ्घले त्यहाँको प्रहरी प्रशासनलाई खबर गर्नुका साथै ठाउँठाउँमा उनको फोटोसहितको पोस्टरसमेत टाँसेको थियो । सिलवाल वैदेशिक रोजगारीको सिलसिलामा सात वर्षअघि पोर्चुगल आएका थिए ।

 

 

गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै