
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन् ।
समाजवादी प्रेस सङ्गठनले सोमबार कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा विषयमा कुनै द्विविधा नरहेको पनि स्पष्ट पारे ।
उनले २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोहीअनुसार सहमति हुने उल्लेख गरे ।
नेपालले अहिलेसम्म एमालेबाट फुटेको एकीकृत समाजवादीको अवस्था धेरैलाई थाहा नभए पनि आगामी निर्वाचनले त्यसको पुष्टि गर्ने बताए । यद्यपि गठबन्धनमा पछि उम्मेदवार कसरी टुङ्ग्याउने भन्ने तरिकाका बारेमा छलफल भइरहेको उनले बताए ।
उनले उम्मेदवार छनोटको तरिका तय गर्न गठबन्धनमा लगातार छलफल भइरहेको बताउँदै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन कायम रहने जिकिर गरे ।
“गठबन्धनलाई लम्ब्याएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि साझा उम्मेदवार कायम गरिन्छ”, नेपालले भने, “उम्मेदवारबारे हामी छलफलमा रहेका छौँ, ११ गतेको मिति तोकिएकाले वैशाख १० गते राति १२ बजेसम्म भए पनि उम्मेदवार तय गरिन्छ ।”
नेपाली अर्थतन्त्रमा देखिएको समस्याबारे सबै राजनीतिक दल बसेर साझा समस्याका रूपमा लिनुपर्ने र छलफलबाट समाधान गरिनुपर्ने उनको सुझाव छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit