
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरुमा कर्जाको माग अत्यधिक बढ्दा तरलतामा चाप परेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थसमितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाकाबारे जानकारी दिँदै उनले अहिलेसम्म बैंकहरुबाट ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको तर निक्षेप ६४ अर्ब मात्रै भएकाले वित्तीय प्रणालीमा तरलतामा चाप परेको बताएका छन् । उनले अहिले पनि वित्तीय प्रणालीमा कर्जा र निक्षेपबीच साढे ३ खर्बको अन्तर रहेको पनि बताएका छन् ।
उनले पछिल्लो समय ५० प्रतिशत कर्जा आयातमा मात्रै बाहिर जाँदा तरलता थप अभाव भएको बताएका छन् । चालु आर्थिक वर्षको चार महिनामा मात्रै राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि मात्रै २३ खर्ब ८६ अर्ब रुपैयाँ रिपोमार्फत् बैंकिङ प्रणाली पठाएको पनि उनले जानकारी दिएका छन् । उनले राष्ट्र बैंकले आयात रोक्न नसक्ने तर निरुत्साहित गर्ने नीति बनाउने बताएका छन् । उनले आयातलाइ निरुत्साहित गर्र्ने विषयमा अर्थमन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंकर संघसँग छलफल भइरहेको बताएका छन् । उनले बिलासिताका वस्तु आयातमा थप कडाइ गरिने पनि बताएका छन् । त्यस्तै, मंसिर महिना पछि बैंकहरुको वेस रेट ब्याजदर बृद्धि हुनसक्ने बताएका छन् ।
‘चालु आर्थिक वर्ष लागेसँगै बजारमा तरलताको चाप रहेको थियो। कोरोना महामारीको पहिलो लकडाउनको समयमा बजारमा अधिक तरलता भएर कतै लगानी हुन सकेको थिएन । तर, असार महिनापछि बैंकहरुमा कर्जाको अत्याधिक माग बढेकाले बजार तरलता चाप परेको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि विभिन्न माध्यमबाट सहजता बनाएको छ । अहिले पनि राष्ट्र बैंकले तरलता सहज बनाउनका लागि २५ अर्ब रुपैयाँको व्यवस्थापन गरेको छ । कर्जाको माग धेरै र आयात बढेका कारण तरलतामा समस्या आएको हो । अहिले बैंकहरुमा कर्जाको बेसरेट ९ प्रतिशत रहेको छ । त्यस्तै अर्थतन्त्रलाई पर्नसक्ने सम्भावित असरलाई ध्यान दिँदै आयातमा थप कडाइ गर्ने योजना रहेको छ’ उनले भने ।
उनले शेयर बजारमा बुझेर मात्रै लगानी गर्नु पर्ने बताएका छन् । उनले कोरोना महामारीको समयमा अन्यत्र लगानी नहुँदा शेयर बजारमा लगानी ओइरिएकाले बजारा उच्च बिन्दुमा पुगेको बताएका छन् । उनले कम्पनीको वित्तीय विवरण हेरेर मात्रै लगानी गर्न लगानीकर्तालाई आग्रह गर्दै कम्पनीको ग्रोथ कम भएको तर शेयर मूल्य बढेको बढ्यै गर्नु स्वभाविक नभएको बताएका छन् । शेयर बजारलाई नियमन गर्न राष्ट्र बैंकले सेबोनलाई दिएको बताएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit