Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

अब ट्राफिक प्रहरीको जरिवाना कारबाही स्थलबाटै भुक्तानी गरी तत्कालै कागजपत्र लिन सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ को सुरुवात गरेको छ । 

 

बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको सुरुवात गरेको हो । तत्काल ट्राफिक जरिवाना भुक्तान गर्ने प्रणाली शुभारम्भ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईले ट्राफिक सेवा आधुनिक र प्रविधियुक्त हुँदै गएको बताएका छन् । 

 

उनले अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिनुपर्ने समस्या समाधान भएको बताएका छन् । उनले अहिलेसम्म कारबाहीका लागि बनाइएको एप ५ वटा मोबाइलमा मात्रै प्रयोग गरिएको र विस्तारै यसको संख्या बढाउँदै जाने बताएका छन् । उनले कारबाहीमा परेकाहरुको अब डिजिटल इन्ट्री गरिने र तत्काल रकम भुक्तानी गरी कागजात फिर्ता लिन मिल्ने बताएका छन् ।

 

‘अहिलेको सिस्टम हामी चिट काट्थ्यौँ, त्यसपछि बेलुका त्यो कागजपत्र अफिसमा आउँछ, त्यो बीचमा उहाँले अनलाइनबाट पनि तिर्न सक्नुहुन्छ, बैंकमा गएर पनि तिर्न सक्नुहुन्छ । बेलुका हाम्रोमा ल्याएर इन्ट्री गरेपछि कागजपत्र फिर्ता पाउनुहुन्थ्यो । यसलाई सहज र सरलीकृत गर्न, कोरोनाको यस्तो बेलामा सहज बनाउनु पर्छ भनेर फील्डबाट नै मुक्ति दिन यो व्यवस्थाको सुरुवात गरेका हौँ’ उनले भने ।

 

‘अहिले हामीसँग एप डाउनलोड गरेका ५ वटा मोबाइल मात्रै छन् । त्यसबाट हामी स्टार्ट गर्दछौँ । गर्न के सकिन्छ भने ५ वटा मोबाइलबाट कसैलाई हामी जरिबाना गर्दैछौँ भने त्यतिबेलै त्यही इन्ट्री गर्छौं । डिजिटल इन्ट्री फिल्डमा नै हुन्छ । पहिलेको जस्तो कागजपत्र अफिसमा ल्याएर इन्ट्री गरेपछि मात्रै कागजपत्र पाउने सिस्टम हटेर यो सिस्टम लागू हुन्छ । कसैले तत्काल लिन चाह्यो भने रकम भुक्तानी गरेर तत्काल लिन सकिन्छ । उहाँले अनलाइन वा क्यूआरकोर्डबाट तिर्न सक्नुहुन्छ’ उनले भने ।

 

महाशाखाले पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी ५ ठाउँमा यो सेवा सुचारु गरेको हो । त्यस्तै मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका सवारीसाधन चालकहरुका लागि भने रकम भुक्तानी तत्काल गर्न पाएपनि महाशाखामा गएर सचेतना कक्षा नलिएसम्म कागजात पाउने छैनन् ।


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै