Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

नवनियुक्त मन्त्रीहरुका यस्ता छन् एजेन्डा, कसले के भने ?

प्रधानमन्त्री शेरबहादुर देउवाले करिब ३ महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । देउवाले शुक्रबार २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

 

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउन आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका छन् । 

 

शुक्रबार साँझ मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री कार्कीले मन्त्रालयको कामलाई देखिने गरी सम्पादन गर्ने काममा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन् । उनी यसअघि कानुनमन्त्री थिए । उनलाई जिम्मेवारी हेरफेर गर्दै सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको हो । 

 

मन्त्री कार्कीले वर्तमान सरकारले प्रेस स्वतन्त्रताको सदैव सम्मान गर्ने पनि बताए । ‘स्वतन्त्र प्रेसले नै लोकतन्त्रको रक्षा गर्छ भन्ने मान्यता हामी राख्दछौं । त्यसैले प्रेस स्वतन्त्रताको पक्षमा वर्तमान सरकार सधैंभरी उच्च सम्मान र आदरका साथ अगाडि बढ्नेछ,’ उनले भने ।

 

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले आफूले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छन् । मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतवारदेखि मन्त्रालयले हाल गरिरहेको कामको ब्रिफिङ लिने र कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी हुन् । 

 

मन्त्री यादवले देश कोरोनाको कारण जर्जर भएको उल्लेख गर्दै आगामी दिनमा देशलाई आफ्नो मन्त्रालयबाट गर्ने सहयोग र लगानी आफ्नो तर्फबाट पूरा गर्ने बताइन् । 

 

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा आफूले सबैभन्दा बढि ध्यान केन्द्रित गर्ने बताएका छन् । मन्त्री खतिवडाले अनियमितता, भ्रष्टाचारलगायतका कुराहरुलाई अन्त्य गर्न कामै गरेर देखाउने प्रतिवद्धता समेत व्यक्त गरे । 

 

उनले आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटले देखाएका कामहरुलाई समयमै सम्पन्न गर्ने काममा पनि आफ्नो ध्यान केन्द्रित हुने बताए । 

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्न रहने बताए ।

 

‘शिक्षाका समस्याहरु छन् । शिक्षा मन्त्रालयले पहिलेदेखि नै केही सुधार गर्ने प्रयत्न गरेको छ । म मेरो आफ्नो लागि वा कसैको लागि व्यक्तिगत प्रयोजनको लागि भन्दापनि शिक्षामा आमुल परिवर्तन गर्ने प्रयत्न गर्नेछु र त्यसको साथसाथै देश र जनताको पक्षमा शैक्षिक क्षेत्रबाट हुनुपर्ने कामहरुको निम्ति अहोरात्र खटेर परिणाम निकाल्ने प्रयत्न गर्नेछु,’ उनले भने ।

 

मन्त्री पौडेलले समाजवाद उन्मुख राज्य प्रणाली स्थापनाका लागि शिक्षा क्षेत्रबाट गर्नुपर्ने शैक्षिक सुधार, आवश्यक जनशक्ति उत्पादन र नीतिगत सुधार गर्नका लागि पनि आफ्नो तर्फबाट सकेको काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले शैक्षिक बेरोजगारको समस्या समाधानका निम्ति आफ्नो अधिकतम प्रयत्न रहने उल्लेख गरे । 

 

मन्त्रीपरिषदलाई पूर्णता दिएलगत्तै शुक्रबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यक्ता अनुसार उत्साह र इमानदारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिए । 

 

उनले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामना समेत गरेको नवनियुक्त सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

 

बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीलाई तोक्ने निर्णय गरेको छ । त्यसैगरी मन्त्रीपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८ लाई स्विकृत गर्ने र मन्त्रीपरिषदका समितिहरुलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ । 

 

प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गर्नु भएको बताए । उनले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको दाबी गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै