
-->
राष्ट्रपति विद्यादेवी भण्डारीबाट दर्ज्यानी चिन्ह लगाएपछि आजबाट देशको प्रमुख सुरक्षा अंग नेपाली सेनाको जिम्मेबारी महारथी प्रभुराम शर्माको काँधमा छ । २४ भदौं २०७८ देखि २३ भदौं २०८१ सम्म सेनाले गर्ने राम्रा–नराम्रा सबै गतिविधीको जस–अपजस अब नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माकै काँधमा हुनेछ ।
सेनामा अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल अपेक्षित सन्तोषजनक रहन सकेन । उनी प्रचारमुखी भएको, आफ्नालाई काखा र अरुलाई पाखा गराएको, विगतमा बदनामहरुलाई मुख्य जिम्मेबारी दिएको र सही सूचना र सल्लाह अनुसरण गर्न नसकेको उनले तीनवर्षमा गरेका निर्णयले प्रष्ट पारेका छन् ।
यसबाहेक उनका धेरै निर्णयले सेनामा ल्याउने र ल्याउन सक्ने उथलपुथल रोक्दै सेनालाई भाइचारा, अनुशासन र एकतावद्ध बनाएर लैजाने जिम्मेबारी यतिबेला प्रधानसेनापति शर्माको काँधमा आइपुगेको छ ।
अघिल्लो सरकारबाट सैद्धान्तिक सहमतीपछि गठन भएको तीन जोड एक कमाण्डको प्रयोग र प्रभावकारितासहित यसका लागि आवश्यक रणनीति बनाउने मुख्य जिम्मेबारी महारथी शर्माको काँधमा आइपुगेको छ । यस्तै सेना लोकतान्त्रिक भएपछि उसको न्याय प्रणाली अझै जंगी रहेको अवस्थामा समेत महारथी शर्माले सुधार गर्न खाँचो छ ।
उनले सैनिक कानून र नियम अनुसार सबैलाई एकप्रकारको कसीमा राख्ने दायित्व उनको हो । आजका मितिदेखि उनी सबैका अभिभावक हुन् । यसका लागि उनले असल सारथीहरुको चयनमा विशेष ध्यान दिन जरुरी छ ।
अवकाशप्राप्त महारथी थापाले आफ्नो बिदाई सम्बोधनको अन्तिममा भनेका ‘मुसा’ हरु अझै काँधमा तारा झुण्डाएर शर्मालाई पनि गुमराहमा राख्ने हरसम्भव प्रयासमा तल्लिन छन् । उनले तिनको पहिचान गरेर दुरी बनाउने जिम्मेबारी समेत शर्माकै काँधमा छ ।
त्यसो त कायममुकायम भएकै सम्बोधनमा उनले ‘चेन अफ कमाण्ड’ को स्थापित मान्यतालाई आत्मसात गरिसकेको छन् । यसबाहेक रिभर्स करप्सनका नाममा आफू अघि बढन बाटो बनाउने र मनलाग्दी कारबाहीको डण्डा चलाउने पुरानो शैलीका बिषयमा आजकै मितिबाट ठोस निर्णय आवश्यक छ ।
आजको
औपचारिक समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थियो ।
राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा शर्मालाई यही भदौ ११ गते आजदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् ।
नवनियुक्त प्रधानसेनापति शर्माले जङ्गी अड्डामा निशान भगवतीको पूजार्चना गरेर जिम्मेबारी सम्हाल्ने छन् । उनको सम्मानमा सैनिक टुकडीले प्रधानसेनापति सम्मान गारत अर्पण गर्नेछ । आजै पदबहाली, रथीवृन्दलाई सम्बोधन तथा सैनिक मञ्च टुँडिखेल र छाउनी पुगेर वीर सैनिकप्रति पुष्पहार अर्पण गर्ने नवनियुक्त प्रधानसेनापति शर्माको कार्यक्रम छ ।
यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीनवर्षे कार्यकाल आजै सकिएको छ । नवनियुक्त प्रधानसेनापति शर्माले सामूहिक नेतृत्व, तालीम र आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने घोषणा गरेका छन् । उनको सम्मानमा आज सैनिक मुख्यालय टुँडिखेलमा स्वागत समारोह आयोजना हुनेछ ।
महारथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद एवं सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा तथा बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालीम लिएका छन् ।
युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे विशेष रुची र चासो राख्दछन् । उनले संयुक्त राष्ट्र संघको शान्ति मिशनअन्तर्गत पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्तरराष्ट्रिय कमाण्ड गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गर्नुभएका शर्मासँग सरल स्वभाव, स्पष्ट अभिव्यक्ति र ठोस निर्णय गर्ने क्षमता छ । सेनाको तीन जोड एक अवधारणाको पुनर्संरचनालाई व्यवस्थित कार्यान्वयन गर्नु उनको प्रमुख कार्यभार रहनेछ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit