
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ ।
सोमवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडपर्वमा अपेक्षा अनुसारको व्यापार भएको बताए । अध्यक्ष शाक्यले चाडवाड पछिका केही दिन बजार सुस्त भएपनि मंसिर महिनाबाट विवाहको लगन हुने भएकोले त्यो बेलामा पनि राम्रो व्यापार हुनेमा आशावादी रहेको जनाए ।
‘दशैँमा दिनको ४० किलोको हाराहारीमा सुनको बिक्री भएको छ भने तिहार मा लगभग ४० किलोको हाराहारीमै दैनिक व्यापार भएको छ । धनतेरसको दिनमा लगभग ५० किलोको हाराहारीमा माग आएको थियो । चाँदी प्रतिदिन १ हजार किलो हाराहारीमा माग आएको थियो, धनतेरसको दिनमा २ हजार केजीसम्म माग आएको थियो, यो वर्षको चाड सुनचाँदी व्यवसायको लागि राम्रो रह्यो,’ उनले भने ।
अध्यक्ष शाक्यले सरकारले सुनचाँदी वितरणको नियमलाई वैज्ञानिक र पारदर्शी बनाउन आवश्यक रहेको बताए । उनले सुनचाँदीलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्थापन गर्नुपर्ने बताउँदै देश संघीयताको राज्य पुनः संरचनामा गइसकेकोले सुनको वितरणलाई काठमाडौँमा केन्द्रित नगरी सातै
प्रदेशको राजधानी मार्फत् वितरण गर्नुपर्ने बताए ।
‘यो जुन सप्लाइको सिस्टम छ, यसलाई हामीले विशेष गरेर वैज्ञानिक र पारदर्शी बनाउन जरुरी छ, यसलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्थापन गर्नुपर्ने जरुरी छ, यसै सन्दर्भमा हामी चाँडै नेपाल राष्ट्र बैंक जाँदै छौँ, अर्थ मन्त्रालय लगायत विभिन्न नियामक निकायहरुमा यही सुनको सप्लाइसँग सम्बन्धित विषयमा कुराकानी गर्न जाँदै छौँ,’ उनले भने ।
‘देश संघीयताको राज्य पुनः संरचनामा गइसकेको छ, सुनको सप्लाइ पनि काठमाडौंमा केन्द्रित नभई सातै प्रदेशको राजधानीहरुबाट वितरण हुनुपर्छ र मोफसलमा रहेका व्यवसायीहरुले पनि आफ्नो सुनको आपूर्तिको व्यवस्थापन गर्नको लागि काठमाडौंमा नै आएर सुन किन्नुपर्ने जुन बाध्यात्मक परिस्थिती विगतमा रहेको थियो, त्यसलाई परिवर्तन गर्नुपर्छ भन्ने सन्दर्भमा हामी लभिङ गरेर अघि बढीरहेको छौँ, चाँडै नै यो समस्या समाधान हुन्छ, २० किलोको कोटा सिस्टम रहेसम्म यसलाई पनि आपूर्तिमा कन्स्टेन्ट रहन्छ, अलिकति कमी कमजोरी रहन्छ, त्यसलाई प्रतिदिन ३० किलो गरेर सिजनको बेला बढी सुन ल्याउने र अफ सिजनको बेलामा कम मात्रै ल्याएर बजारलाई स्तरमा राख्ने भन्ने कुरा लिएर सरकारका विभिन्न निकायमा हामी गइरहेका छौँ,’ उनले भने ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit