Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

काठमाडौंमा दशैंलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु

फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले दशैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सूरु गरेको छ ।

 

काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकहरुलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम शुक्रबारबाट सुरु गरिएको जानकारी गराएका हुन् । 

 

३ दिनसम्म चल्ने यो खोप महानगरपालिका अन्तर्गतको ३२ वटा बडाको ३४ स्थानबाट लगाउन पाउने व्यवस्था गरिएको छ । चाडपर्वका कारण भिडभाड हुने र कोभिड–१९ को पनि जोखिम बढने भएकाले त्यसैलाई मध्यनजर राखेर सो खोप कार्यक्रम संचालनमा ल्याइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले तत्कालका लागि ७० हजार खोप जिल्ला जनश्वास्थ्य कार्यालयबाट व्यवस्था गरिएको र त्यसले नपुगे थप खोपको व्यवस्था पनि हुने बताए । 

 

‘काठमाडौं महानगरपालिका भित्र आज असोज २२ गतेदेखि ३ दिन सम्म चाडपर्वलाई लक्षित गरेर मानिसहरुको भिडभाड हुने अनि सार्वजनिक यातायात आवतजावत गर्दा पनि भिडभाड हुने भएकाले त्यस्ता गतिविधिलाई समेत न्यूनिकरण गर्ने उद्देश्यले पनि यो खोपलाई प्रायोरिटी दिइएको हो । चाडपर्वलाई लक्षित यो खोप कार्यक्रम काठमाडौं महानगरपालिका भित्रका ३२ वटै वडाको ३४ वटा खोप केन्द्रबाट आज, भोली र पर्सी ३ दिन पहिलो चरणको भेरोसेल खोप लगाउने कार्यक्रम रहेको छ,’ उनले भने ।

 

काठमाडौं महानगरपालिकाले विरामी नागरिकहरुलाई भने लाईन नबसी सो खोप लगाउने व्यवस्था मिलाइएको जानकारी गराएको छ । स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले विरामीहरुका लागि लाईन नबसी सो खोप लगाउने व्यवस्था मिलाइएको बताए । उनले पहिलो चरणको यो भेरोसेल खोप लगाउनेहरुलाई दशैं तिहारको बीचमा दोस्रो चरणको खोप लगाउने पाउने व्यवस्था मिलाउने जानकारी समेत दिए ।

 

काठमाडौं महानगरपालिकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने कार्यमा सहभागी हुन पनि सबैलाई आह्वान गरेको छ । परिचय पत्र नखुलेका नागरिकले वडा कार्यालयको सिफारिसमा सो खोप लगाउने पाउने व्यवस्था पनि गरिएको स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै