Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

एकीकृत समाजवादीलाई संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन ओलीको चुनौती

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् ।

 

अध्यक्ष ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दुरुपयोग गरेर पार्टी फुटाउने काम गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । 

 

शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले २३ सिट पाउने हुत्ति नभएको भन्दै माधव नेपालले आगामी संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन चुनौती दिए । 

 

जनादेशको दुरुपयोग गर्नेहरुलाई देखाउने गरी चुनावको तयारी गर्न पनि पार्टी निकट स्वास्थ्यकर्मीहरुलाई अध्यक्ष ओलीले निर्देशन दिए । ‘५४ सिट दिइयो प्रचण्डलाई । तर भस्मासुर शैलीमा त्यसलाई दुरुपयोग गरे । ४ वटा सिट आउँदैन भनेर हामीसँग प्रचण्ड मिलेको होईन । माधव नेपाल २२/२३ सिट ल्याउने हुत्ति भएको मानिस हो ? उनको नेतृत्वमा । अव ३ सिट ल्याएर देखाउन त ? त्यो हुत्ति भएका मान्छे हुन । तर पार्टी भित्रको कुरा दिइयो साथीहरुलाई । यो हिजोको चुनावको परिणाम हो । अव आजको चुनावको परिणाम होईन । म साथीहरुलाई भन्न चाहन्छु–अव बैशाख ३० को चुनावको परिणाम र त्यसपछिको चुनावको परिणाम बेग्लै हुन । अघि खगराजजीले पनि भनिसक्नु भयो । त्यो बेग्लै बनाउन तपाई हामी लाग्नु पर्दछ नागरिकको हैसियतले,’ उनले भने ।

 

अध्यक्ष ओलीले एउटा नागरिकको हैसियतले सरकारले गरेका राम्रा कामको समर्थन गर्न र नराम्रा कामको विरोध गर्न पनि स्वास्थ्यकर्मीहरुले सक्नुपर्ने बताए । उनले मेडिकल कलेज र इन्जिनियरिङ कलेज खोल्नै नदिन मतियारहरु सक्रिय रहेको बताए । 

 

वरिष्ठ चिकित्सक गोविन्द केसीप्रति संकेत गर्दै ‘उहाँले म नखाऊ भनेपछि सरकार थरर काम्ने गरेको’ पनि बताए । विद्यार्थी बाहिर पढाउने र कमिशन खान पल्केकाहरुले नै नेपालजस्तो स्वास्थ्यको हव बन्न लायक मुलुकमा मेडिकल कलेज नै खोल्न नदिने अवस्था आएको ओलीको तर्क थियो ।

 

त्यस अवसरमा अध्यक्ष ओलीले परीक्षण ल्यावसम्म नभएको अवस्थामा कोभिड नियन्त्रणका लागि तत्कालीन आफू नेतृत्वको सरकारले असाधारण सफलता हासिल गरेको पनि स्मरण गराए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै