
आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको लागि शुक्रबारबाट आचारसंहिता लागू भएको छ । शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै आजबाट आचार संहिता लागू भएको बताएको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उलंघन गर्ने काम क्षम्य नहुने भन्दै यस्ता गतिविधि गरे उनीहरुमाथि निर्वाचन कसुर कानुन बमोजिम कारबाही हुने चेतावनी दिएका छन् ।
उनले भने, ‘निर्वाचन आचारसंहीता कार्यान्वयन हुन्छ भन्ने कुरामा कुनै पनि शंका छैन ।
यदि कसैले भित्रभित्रै आचारसंहिता उलंघन गर्न उद्यत भयो भने त्यो निर्वाचन कसुर हुन्छ । निर्वाचन कसुरमा कानुन बमोजिम कारबाही गर्न आयोग तयार छ । त्यो कसैलाई छुट हुँदैन । कसैलाई क्षम्य हुँदैन ।’
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन भए/नभएको अनुगमन गर्ने जिम्मेवारी तत्कालका लागि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर जिम्मेवारी ग्रहण नगरेसम्मका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्व र जिल्ला निर्वाचन अधिकृतले सदस्य सचिवको भूमिकामा रही सो कार्य सम्पादन गर्ने अधिकार आयोगले प्रत्यायोजन गरेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले स्पष्ट पारे ।
निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार बन्नका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट सेवा, सुविधा लिएको हुन नहुने पनि स्पष्ट पारेको छ ।
त्यसैगरी निर्वाचन प्रचारप्रसारको क्रममा सामाजिक सञ्जाल प्रयोग गर्न पाइने तर त्यसको दुरुपयोग भने नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।
निर्वाचन आचारसंहिता-
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit