Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

न्याय बेचबिखन हुन नदिन बारले प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरेको हो : चण्डेश्वर श्रेष्ठ

प्रधानन्याायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ ।

 

मंगलबार पनि नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिइकन कानमा तेल हालेर बस्दा न्याय सुसञ्चालन हुन नसकेको बताएका छन् । उनले न्याय बेचबिखन गर्न र न्यायपालिकामा पुगेका आम मानिसहरुलाई न्याय नदिने काममा प्रधानन्यायाधीश जबरा लागिरहेको आरोप समेत लगाएका छन् । उनले प्रधान्यायाधीश जबराको बहिर्गमन हुन अब धेरै समय नलाग्ने दाबी समेत गरेका छन् ।

 

‘न्यायपालिकाको गरिमालाई उच्च राख्न, न्यायपालिकामा व्याप्त रहेको विसंगति, विकृति, विचौलिया भ्रष्टाचार रोक्न, जो अभियान चलाउँदै आइरहेका छौँ । यो अभियानको बाधकको रुपमा रहनु भएका प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामाको माग गर्दै हामीले कार्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा हामीले शान्तिपूर्ण धर्नाको कार्यक्रम जो गर्दै आइरहेका छौँ । प्रधानन्यायधीशले आफ्नो कानमा तेल हालेर राजीनामा नदिइकन जो बसिराख्नु भएको छ, त्यसले यो लम्बिँदै गइरहेको छ’ उनले भने ।

 

‘यसमा हामीले सेवाग्राहीहरुलाई पनि ध्यान दिएर सेवाग्राहीलाई अन्याय पर्न नदिनको लागि, न्याय बेचबिखन हुन नदिनको लागि साँच्चिकै अन्यायमा परेकालाई न्याय दिनको लागि हामीले आन्दोलन गरिरहेका छौँ । तर त्यो न्याय बेचबिखन नरोक्नको लागि, न्याय नदिन, न्याय बेचबिखन गर्नको लागि उहाँ राजीनामा नदिकन बसिरहनु भएको छ । उहाँको राजीनामा हामीले मागिरहेका छौँ । अब उहाँको बहिर्गमन अवश्यम्भावी छ । न्यायपालिकाको गरिमा राम्रो भएन र न्यायपालिका स्वच्छ भएन, स्वतन्त्र भएन भने राज्यका अरु अंग पनि निकम्बा हुन पुग्दछन्’ उनले भने ।

 

उनले आजै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानन्यायाधीश जबराको राजीनामाका बारेमा छलफल गर्ने बताएका छन् । नेपाल बार एशोसिएशनसहित देशभरका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कार्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै