Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

मेरो कार्यकालभरि सबै सेटिङ भत्किएको छ : डा. शिवमाया तुम्बाहाम्फे

निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले आफ्नो कार्यकालमा व्यक्तिले आफ्नो नाममा लगेका सरकारी जग्गाहरु सरकारको नाममा फिर्ता गर्न सफल भएको बताएकी छन् ।

 

सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री तुम्बाहाम्फेले आफ्नो कार्यकालमा व्यक्तिले दुसित मनसायका साथ आफ्नो नाममा दर्ता गरेर लगेको जग्गालाई फिर्ता गर्ने लक्ष्य लिएको भन्दै त्यस्ता जग्गाहरु फिर्ता लिने काम प्रारम्भ गरेको बताइन् । 

 

उनले सुनसरीमा १७९ बिगाहा जग्गा नेपाल सरकारको नाममा ल्याइसकिएको र काठमाडौंमा पनि अतिक्रमण भएको जग्गा फिर्ता लिने काम पनि अन्तिम चरणमा पुगेको जानकारी दिइन् । 

 

‘सुनसरीमा १७९ बिगाहा जग्गा नेपाल सरकारको नाममा ल्याइसक्यौँ । राजधानीको मुटुमा रहेको जग्गा जुन सरकारको नाममा थियो । दूषित मनसायका साथ विभिन्न व्यक्तिहरुले त्यो जग्गा हडपेका थिए । जग्गा विक्रीवितरण गरिएको थियो । ती व्यक्तिहरुलाई म्याद तामेलको प्रक्रिया अन्तिम चरणमा पुगेको छ,’ उनले भनिन् ।

 

ती व्यक्तिहरुले अतिक्रमण गरेका जग्गाहरुको हकमा केहीसरकारको नाममा ल्याउने काम सकेको र अझै पनि छानबिन भइरहेको तुम्बाहाम्फेले बताइन् । 

 

निवर्तमान मन्त्री तुम्बाहाम्फेले आफ्नो कार्यकालमा जग्गा नापजाँचको नयाँ प्रविधि लाइडर अपनाएको र नारायणीदेखि पश्चिम महाकालीसम्मको भूभागमा नापजाँच गरिसकेको जानकारी दिइन् । 

 

मौसमले साथ दिए यसै आर्थिक वर्षभित्र डाटा प्रोसेसिङको काम सकेर त्यसको रिजेल्ट निस्किन सक्ने पनि उनको भनाइ छ । उनका अनुसार आगामी आवमा नारायणीदेखि मेचीसम्म नापजाँचको काम हुने कार्यक्रम रहेको छ । 

 

‘मेरो कित्ता प्रविधि कार्यान्वयन भइसकेको छ । लाइडर प्रविधि, हाम्रो डाटा कलेक्शन गरिसकेपछि त्यो प्रोसेसिङ नेपालमै गर्ने र नेपालमा प्रयोग गरिसकेपछि त्यस्ता रअ मेटेरियल कसैले हाम्रो डाटा लिएर जान नपाउने गरी यहीँ छोडेर जानुपर्छ भन्नेमा मैले जोड दिएको छु,’ तुम्बाहाम्फेले भनिन् ।

 

उनले भूमि मन्त्रालयअन्तर्गत केही सेटिङको प्रयास हुने गरेको भन्दै त्यस्तो प्रकारको सेटिङलाई आफूले तोडेको पनि बताइन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै