
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीले मुलुकमा अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि आफूहरुबीच गठबन्धन गर्नुपरेको बताएका छन् ।
सभापति देउवाले सत्तारुढ गठबन्धन मुलुकमा संघीयता र संविधानको रक्षाको लागि आवश्यक रहेको पनि दोहोर्याए ।
शनिबार जनकपुरमा आयोजित सत्तारुढ गठबन्धनको आमसभामा बोल्दै उनले नेपाली काग्रेसको महाधिवेशनबाट समेत गठबन्धनलाई अनुमोदन गरिएकाले यसको औचित्यमाथि कांग्रेसले प्रश्न उठाउन नसक्ने बताए । देउवाले तराई मधेसमा नागरिकताको समस्या रहेको बताउदै यसलाई छिटो समाधान गर्ने आश्वासन समेत दिए ।
कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मधेशमा विद्यमान नागरिकताको समस्या समाधान गर्ने आश्वासन दिए । उनले विगतमा एमालेको कारण सो समस्या समाधान हुन नसकेको आरोप समेत लगाए ।
अध्यक्ष दाहालले अब सदन खुल्ने बित्तिकै नागरिकता समस्या समाधान हुने बताए ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताए ।
पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अध्यक्ष यादवले अपिल गरे ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit