
भारतले दार्चुला र धादिङका तीन परियोजनाका लागि ७ करोड ८ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ ।
भारत सरकारको लगानीमा दार्चुलामा विद्यालय भवन र स्वास्थ्य चौकी भवन तथा धादिङको सिँचाइ परियोजना निर्माण हुन लागेको हो ।
बिहीबार जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजनाको निर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् दुहुँ गाउँपालिका, नौगाड गाउँपालिका र गल्छी गाउँपालिकाबीच तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
दार्चुलामा ३ करोड ३७ लाख लागतमा जनविकास माध्यमिक विद्यालय, २ करोड ५३ लाख रुपैयाँ लागतमा इरकोट स्वास्थ्य चौकी भवन निर्माण हुन लागेको हो । त्यस्तै धादिङमा १ करोड १७ लाख रुपैयाँ
लागतमा महेशफाँट सिँचाई परियोजनाको निर्माण हुनेछ ।
यी परियोजनाहरुको निर्माणले स्थानीय बासिन्दालाई राम्रो शिक्षा र राम्रो स्वास्थ्य सेवा सुविधा प्रदान गर्नुका साथै कृषि र बाली उत्पादन बढाउन किसानलाई मद्दत गर्ने विश्वास लिइएको छ ।
नेपालका सातैवटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरुको निमार्ण जस्ता विविध क्षेत्रमा सन् २००३ यता भारतले ५२४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ ।
त्यसमध्ये दार्चुलामा ६ वटा परियोजनासहित प्रदेश ७ मा ३२ वटा परियोजना अघि बढाइएको छ भने धादिङमा ३ वटा परियोजनासहित प्रदेश ३ मा १०२ वटा परियोजना अघि बढाइएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit