Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सिंहदरबारभित्र सेनाको नयाँ भवन बनाइँदै, मन्त्री झाँक्रीले गरिन् शिलान्यास

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी छन् । 

 

सोमवार मन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी हुन् । उनले भवन निर्माणको काम समयमै सक्न निर्देशन दिइन् । 

 

मन्त्री झाँक्रीले मन्त्रालय र भवन निर्माण विभागले आवश्यक सहयोग गर्न तयार रहेको भन्दै लक्ष्यमा ध्यान केन्द्रित गरेर काम गर्नुपर्ने बताइन् । उनले सिंहदरवारभित्र नै नेपाली सेनाको व्याण्ड दलको लागि भवन निर्माण गर्ने कुरा जग्गा प्राप्तिको अभावका कारण सफल नभएको र जग्गा प्राप्ति गर्ने काम भइरहेको जनाइन् । 

 

देश सञ्चालन हुने केन्द्र सिंहदरवारभित्र पनि समयमै काम नसके सरकारमाथि प्रश्न उठ्ने भन्दै मन्त्री झाँक्रीले प्रश्न उठ्न दिने वातावरण नबनाइ काम गर्न आग्रह गरिन् । 

 

‘भवन निर्माण विभाग, हाम्रो शहरी विकास मन्त्रालय काम गर्ने सिंहदरवारको साइट र कन्ट्याक्टरको अवस्था हेर्दा उहाँहरुले यो काम हमीले अवार्ड गरेको, दिएको दायित्व र समयभन्दा अगाडि सक्नुहुन्छ भन्ने विश्वास छ । त्यसका लागि हामीले हाम्रोतर्फबाट के गर्नुपर्छ सहयोग गरी नै रहन्छौँ । काम अन टाइम सक्नको लागि मैले अनुुरोध गरेँ । काम शुरु गर्नलाई टाइम लागेपनि शुरु भएपछि समय अगावै सक्ने लक्ष्यबाट काम गर्नुहुन्छ भन्ने विश्वास छ । हामीले अर्को व्याण्ड दलको लागि पनि भवन बनाउने प्रतिवद्धता छ । त्यसको लागि जग्गा प्राप्ति अभाव भएकोले अहिले काम ढिलो भएको छ र दुई, तीन वटा ठाउँ हेरेका छौँ ।त्यसको जग्गा प्राप्तिको प्रक्रिया बाँकी भएकोले हो । सिंहदरवारभित्र सबै क्रसकटिङ इन्टीटीहरु एकै ठाउँ भएको आयोजना पनि ढिलोढालो भयो भने हाम्रो क्षमता, हाम्रो पर्फमेन्समाथि प्रश्न उठ्नेछ,’ उनले भनिन् ।

 

 

सिंहदरबार भित्र बन्न लागेको चण्डीदल गणको भवन निर्माणको जिम्मा बिकोइ, रसुवा र तुँदि जोइन्ट भेन्चरले प्राप्त गरेको छ । भवन निर्माणको अनुमानित लागत रकम ६५ करोड ९५ लाख रहेको र निर्माण अवधि २ वर्ष रहेको छ । 

 

कुल क्षेत्रफल एक लाख वर्गफिटमा बन्न लागेका दुई भवनमा ७०२ जना जवान रहनसक्ने गरेर डिजाइन गरिएको छ । त्यस्तै भवन परिसरमा ४ वटा ब्याडमिन्टन र एउटा बास्केटबल कोर्ट रहनेछ भने परेड खेल्नका लागि ग्राउण्ड समेत बनाइनेछ ।  कुल ४३ रोपनी ६ आना क्षेत्रफलमध्ये १० आना मात्रै भवनले ओगट्नेछ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै