
सहकारी संस्थाहरुले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकोमा अबदेखि सहकारी संस्थाहरुले पनि जारी गर्न सक्ने भएका छन् । आइतबार स्मार्टच्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीच सम्झौताले सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा बाटो खोलेको हो ।
उक्त सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईं र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरे ।
सम्झौताअनुसार अबदेखि सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कुप कार्ड जारी गर्न सक्नेछन् । सहकारीहरुले आफ्नो सदस्यलाई कुप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटीएममार्फत रकम निकाल्न सक्नेछन् ।
पीओएसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन् । कुप कार्ड ग्लोबल आइएई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत सरहकारीले जारी गर्ने छन् ।
सम्झौतापछि समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा पहुँच बढ्दै जाने र साधारण बैंकिङ कारोबारको लागि बैंक गइरहनु पर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । यसअघि एक सयभन्दा बढी सहकारीले आफ्ना सदस्यहरुलाई कार्ड सेवा उपलब्ध गराउँदै आएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit