Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

गृह प्रशासन सुधारका लागि गृहमन्त्री खाणले ल्याए २०६ बुँदे कार्ययोजना (विवरणसहित)

गृहमन्त्री बालकृष्ण खाण ।

गृहमन्त्री बालकृष्ण खाणले मातहत रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित अध्यागमन र कारागार व्यवस्था विभागसम्मलाई समय अनुकुल र प्रविधिमैत्री बनाउन मौजुदा कानूनदेखि भौतिक संरचनासम्मका सुधारसहितको २०६ बुँदे कार्ययोजना अघि सारेका छन् । 

 

 

गृहमन्त्री खाणले आफ्नो कार्यकालको ६ महिनापछि यसअघि २०७४ मा तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलले बनाएको कार्ययोजनाको समिक्षा सहित समय सीमा तोकेर कार्ययोजना बनाएका हुन् । 

 

 

उनको कार्ययोजनाको समिक्षा, अनुमगन र निर्देशनका लागि मन्त्रालय र मातहतका विभाग तथा कार्यालयहरूको एकीकृत अनुगमन तथा मुल्याङ्कन कार्यढाँचा तयार गर्ने जिम्मेबारी मन्त्रालयलको नीति,योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा र मातहतका दुवै सुरक्षा निकायको लागि  एकीकृत अनुगमन तथा मुल्याङ्कन कार्यढाँचा तयार गर्ने जिम्मेबारी सुरक्षा समन्वय महाशाखालाई तोकिएको छ । 

 

 

कार्ययोजनाको मुख्य रणनीतिमा गृह प्रशासनसँग सम्वन्धित नीति, कानुन र सङ्गठनात्मक पक्षमा समसामयिक सुधार गर्ने, सुरक्षा निकायलाई समयानुकूल आधुनिक, दक्ष, व्यवसायिक तथा साधन स्रोत सम्पन्न बनाउने, अन्तर्राष्ट्रिय सिमाना, सीमा नाकाको सुरक्षा व्यवस्था र अध्यागमन प्रणालीलाई सुदृढ गर्ने, गृह मन्त्रालय अन्तर्गत सेवा प्रवाह गर्ने निकायहरूबाट प्रभावकारी सेवा प्रवाहको लागि जनशक्ति व्यवस्थापन, स्रोत साधनको व्यवस्था र सूचना प्रविधिको अवलम्बन गर्ने, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संस्थागत क्षमता विकास, स्रोत साधनको व्यवस्था, पूर्वाधार निर्माण र जनशक्तिको क्षमता विकास गर्ने, एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र व्यक्तिगत घटना दर्ता प्रणालीलाई सुदृढीकरण र प्रणालीगत एकीकरण गरी राज्यवाट प्रवाह हुने अन्य सेवा सुविधालाई एकीकृत गर्ने, कारागार सुदृढीकरणका लागि भौतिक पूर्वाधार निर्माण, मानवोचित सेवा सुविधा र कैदीबन्दीलाई सीपमूलक तालिमको व्यवस्था गर्ने र  शान्ति सुरक्षा, सेवा प्रवाह र सुशासनको लागि सङ्घ, प्रदेश र स्थानीय तह बीच समन्वय र सहकार्यलाई सुदृढ बनाउने रहेको छ ।

 

 

कार्ययोजना सार्वजनिकगर्दै मन्त्री खाणले गृह प्रशासनलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताए। सोमबार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना, २०७८ को सम्बन्धमा भएको छलफल कार्यक्रममा उनले मुलुकमा शान्ति स्थापनाका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका हुन्  । 

 


द्रुत विकासको चाहनालाई पूरा गर्न मुलुकमा शान्ति आवश्यक रहेको भन्दै उनले गृह प्रशासन र सुरक्षामा प्रदान गरिने बजेटले मुलुकलाई शान्त र सम्मुन्नत बनाउन मद्दत गर्ने बताए  । 

 

 

संविधानले दिएको मौलिक अधिकारहरुलाई स्थापित गर्नका लागि पनि मुलुकमा शान्ति, सुरक्षाको आवश्यकता रहेको उनले उल्लेख गरे । गृहमन्त्री खाणले भने, ‘गृह प्रशासन र सुरक्षामा प्रदान गरिने बजेटले राष्ट्रलाई शान्त र सम्मुन्नत गराउन मद्दत गर्छ । सरसर्ती हेर्दाखेरी यसलाई बिकास बजेटको रुपमा नहेरियतापनि मुलुकको द्रुत विकासको चाहानालाई पुरा गर्नका लागि पनि मुलुकमा शान्ति आवश्यक छ । र शान्ति स्थापना गर्नका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लानुपर्ने पनि हाम्रो औचित्य र आवश्यकता छ । यो संविधान बनिसकेपछि संविधानमा मौलिक अधिकारहरु जनताको चाहाना अनुसार, आवश्यकता अनुसार नै व्यवस्थापन गरिएको छ । जनताका मौलिक अधिकारहरु स्थापित गर्नका लागि पनि मुलुकमा शान्ति, सुरक्षाको त्यति नै ठुलो आवश्यकता छ । त्यसकारण यो गृह प्रशासन सुधार कार्ययोजना, २०७८ को निर्माण गरिएको छ ।’

 

 

गृहमन्त्री खाणले अध्यागमन प्रयोग गर्नेको संख्या दिनप्रतिदिन बढिरहेकाले नेपाल आउने र नेपालबाट बाहिर जानेहरुको तथ्यांक र यथार्थ विवरण अध्यागमन प्रशासन र सुरक्षा निकायसँग हुनुपर्ने बताए  । अध्यागमनका गेटहरुलाई आधुनिकिकरण गर्नुपर्ने पनि उनले बताए । पछिल्लो समय भिजिट भिसामा विदेशिने र त्यहाँ गएर रोजगारीका लागि नेपालीहरु भौतारिएका विभिन्न घटनाहरु आइरहेको भन्दै यस सम्बन्धमा सम्बन्धित मन्त्रालयहरुले संयुक्त रुपमा गम्भिरतापूर्वक कदम चालिरहेको पनि उनले बताए । 

 

 


उनले भने, ‘अध्यागमनलाई प्रयोग गर्नेको संख्या दिनानुदिन बढिराखेको छ । विभिन्न खालका सुरक्षालाई गम्भिर पार्ने खालका गतिविधि पनि विभिन्न ठाउँमा भएका छन् । त्यसकारण नेपाल आउने मान्छेको पनि यथार्थ प्रोफाइल अध्यागमनसँग रहन सकोस् या सुरक्षा निकायसँग रहन सकोस् । र नेपालबाट बाहिर जानेहरुको पनि तथ्यांक पनि होस् र के प्रयोजनका लागि जाने हो त्यसै प्रयोजनमा त्यहाँ उहाँहरु रहनुहोस् भन्ने नै हाम्रो प्रयत्न हो । त्यसकालागि पासपोर्ट पनि नयाँ प्रविधियुक्त हुँदै जाने र त्यही अनुसार अध्यागमनबाट आवत्जावत् गर्ने क्रममा अध्यागमन गेटहरुलाई पनि हामीले अत्याधुनिकरण गर्नुपर्ने त्यस्तो अवस्था छ । गृह, परराष्ट्र, पर्यटन र श्रम मन्त्रालयले संयुक्त रुपमा नेपालीहरुको यात्रा सुव्यवस्थित हुन सकोस् । यहाँबाट जाने बेलामा पनि सहजतापूर्वक जानुहोस् र जुन देशमा, जुन गन्तव्यमा उहाँहरु पुग्नुहुन्छ त्यहाँ पनि सुरक्षित रुपमा रहनुहोस् र जे प्रयोजनका लागि गएको हो त्यही प्रयोजनका लागि आफ्नो भिजालाई प्रयोग गर्नुहोस् भन्ने नै हाम्रो प्रयत्न हो ।’

 

 

गृहमन्त्री खाँणले बदलिँदो परिवेश अनुसार गृह प्रशासनको उत्तरदायित्व र कार्यशैलीमा गतिशिलता ल्याउनुपर्नेमा जोड दिए । कार्यशैलीलाई पनि तिव्र गतिमा आधुनिकिकरण गर्नुपर्ने उनले बताए । 

 

हेर्नुहाेस गृह मन्त्रालयकाे कार्ययाेजना: 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै