Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

४८ जना प्राविधिक प्रहरी जवानहरु दीक्षित

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा सञ्चालित प्राविधिक प्रहरी जवान दोस्रो समूहको आधारभूत तालिममा सहभागी ४८ जना प्रहरी जवानहरु दीक्षित भएका छन् । 

 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीको प्रमुख आतिथ्यमा उक्त तालिम केन्द्रमा बिहीबार आयोजित समारोहमा उनीहरू दीक्षित भएका हुन् ।  

 

प्रहरी नायब महानिरीक्षक बिसीले तालिममा सर्वप्रथम हुने प्रशिक्षार्थीलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्दै प्रहरी जस्तो मर्यादित पेशामा आफ्ना सन्ततिलाई प्रवेश गर्न हौसला प्रदान गर्ने दीक्षित प्रहरीका परिवारजनहरुमा आभार प्रकट गरे । 

 

 

उनले कार्यक्षेत्रमा मन, वचन र कर्मले निष्ठापूर्वक इमानदार र बफादार भई उच्च मनोबलका साथ नागरिक सेवामा खटिन प्रशिक्षार्थीहरूलाई निर्देशन समेत दिए । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुका साथै तालिम अवधिमा सिकेका ज्ञान र सीपको कार्यक्षेत्रमा अक्षरस पालना गरेमा सफलता पूर्वक कार्य सम्पन्न हुने विश्वास व्यक्त गरे ।  

 

समारोहमा तालिम केन्द्रका प्रहरी निरीक्षक सुजाता तुम्बाहाम्फेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ९० कार्य दिन अवधिको उक्त तालिम गत भदौ २७ गतेदेखि सञ्चालन भएको जानकारी दिए । 

 

दीक्षान्त समारोहमा प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरू उपस्थित थिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै