Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

अनुमोदित ३ राजदूतले संसदीय समितिमा के भनेका थिए ?

आज भएको संसदीय समितिको सुनुवाइमा सर्वसहमतिले अनुमोदित ३ राजदूत ज्ञानचन्द्र आचार्य, डा. शंकर शर्मा र श्रीधर खत्रीले आर्थिक कूटनीति र सन्तुलित परराष्ट्रनीतिमा जोड दिनुपर्ने बताएका छन्  ।

 

बेलायतका लागि अनुमोदित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज संसदीय सुनुवाइका क्रममा उनले नेपालका प्रधानमन्त्रीहरुले बेलायतमा प्रशस्त भ्रमण गरेको उल्लेख गर्दै बेलायतका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको पनि नेपाल भ्रमण गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । बेलायतका राष्ट्र प्रमुखले नेपालको भ्रमण गरेपनि सरकार प्रमुखले हालसम्म भ्रमण गरेका छैनन् । दुई देशको सम्बन्धलाई अझै सुदृढ बनाउन सरकार प्रमुखको रुपमा बेलायतका प्रधानमन्त्रीको नेपाल भ्रमण गराउन उपयुक्त हुने उनको तर्क थियो । उनले नेपालमा लगानी भित्र्याउन पनि आफूले अधिकतम कोसिस गर्ने बताएका छन् । 

 

‘अहिलेसम्म दुईटा कुरा हुन सकेको छैन । बेलायतबाट प्रधानमन्त्रीको भिजिट अहिलेसम्म भएको छैन । बेलायतबाट परराष्ट्रमन्त्रीको भिजिट पनि अहिलेसम्म भएको छैन । यहाँबाट चाँही प्रशस्त भ्रमण भएको तर उताबाट राष्ट्रध्यक्ष तहमा भएको तर सरकार प्रमुखको हैसियतले नभएको हुनाले मलाई लाग्छ–त्यसका निम्ति वातावरण तयार गर्ने । र त्यसका किसिमका भ्रमणहरु आगामी दिनमा गर्नका लागि अत्यन्त महत्वपूर्ण भूमिकमा खेल्नुपर्ने हुन्छ, राजदूत र दूतावासले’ उनले भने ।

 

त्यस्तै, भारतका लागि अनुमोदित राजदूत डा. शंकर शर्माले नेपाल र भारतका बीचमा विश्वासको सम्बन्ध बनाउनुपर्ने बताएका छन् । उनले आपसमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधारका लागि दुई देशबीच विश्वासको वातावरण बनाउनुपर्ने बताएका हुन् । आपसी विश्वास कायम गर्न सकेमा धेरै कामहरु गर्न सकिने उनले बताएका छन् । नेपालको आवश्यकता र राष्ट्रिय हितको विषयलाई रणनीतिक रुपमा अगाडी लिएर जानुपर्ने आवश्यकता पनि उनले औँल्याएका छन् । 

 

‘दुई देशको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधार गर्ने विषयमा एउटा विश्वासकै आवश्यकता छ । सबभन्दा ठूलो विश्वास हो । विश्वासलाई विकास गर्न सके धेरै कामहरु सजिलैसँग अगाडी जानसक्छ । विश्वासको वातावरण बढाउँदै जाने, अगाडी लिएर जाने कुराहरु हुन्छ । हाम्रो आवश्यकता र राष्ट्रिय हितमा हुनसक्ने कुराहरुलाई रणनीतिक रुपमा लिएर जानसक्ने सम्भावना रहन्छ । यी कुराहरु सम्बन्ध सुधार गर्नलाई अत्यन्त महत्वपूर्ण हुन्छन् सुरुवातका लागि भन्ने मलाई लाग्छ । भारतसँगको सम्बन्धमा हाम्रो प्राथमिकता लगायत, अल्पकालिन, दीर्घकालिन रुपमा गर्नुपर्ने कुराहरु र आधारका कुराहरु कसरी अगाडी लिएर जानसक्छौँ भन्ने कुरामा अभ्यास गर्न सकियो भने राम्रो होला, त्यसमा पनि प्रयास गर्छु’ उनले भने ।

 

उनले भारतमा प्राप्त अवसरहरुलाई नेपालको समृद्धिको लागि उपयोग गर्दै अगाडी बढ्ने बताएका छन् । बैठकमा सांसदहरुले आर्थिक कूटनीतिमा जोड दिएर मुलुकको समृद्धिका लागि आवश्यक वातावरण बनाउन प्रस्तावित राजदुतहरुलाई सुझाव दिएका छन् । 

 

त्यस्तै, संसदीय समितिबाट अमेरिकाका लागि अनुमोदित राजदुत खत्रीले एमसीसीबारे नेपाल र अमेरिका दुवै देशका अधिकारीहरुले भ्रम फैल्याउने काम गरेको दाबी समेत गरेका छन् । उनले सो सम्झौतालाई इन्डो–प्योसेफिक स्ट्राटिजीसँग जोडेर हेर्न नहुने बताएका छन् । उनले एमसीसी अनुदान भएको र ऋण तिर्नु नपर्ने स्पष्ट पार्दै यो सम्झौता दुई मुलुकबीचको पार्टनरसिपमा अगाडि बढ्ने उनको बुझाइ थियो ।

 

‘यो इन्डो प्यासेफिक स्ट्राटिजी र एमसीसीलाई मिसाएर हेर्ने धेरैजसो कारणले नेपालमा म बुझ्दछु । यो धारणा केही हदसम्म गलत पनि हो । केही हदसम्म चाँही यो धारणा नेपाल पटीबाट पनि अमेरिकाबाट पनि गल्ती भयो भन्ने अर्को धारणा जस्तो लाग्छ । एउटा नेपालतिरबाट गल्ती भएको मैले के देखेको छु भने–यो अनुदान हो, ऋण तिर्नु पर्दैन । तर पार्लियामेन्टबाट पास हुनुपर्छ । यसो हो भने बिआरआई पनि पार्लियामेन्टबाटै पास गर्नुपर्ने हुन्छ । दुई साईटबाटै भ्रम फैलिएकोजस्तो देखिन्छ । मैले के देख्नु भने– लिने हो भने पनि प्रष्ट भने हुन्छ । नलिने हो भने पनि प्रष्ट भने हुन्छ’ उनले भने ।

 

उनले संसदीय समितिलाई अमेरिकाले एमसीसीबारे पछिल्लो पटक प्रष्ट पारेको पनि बताएका छन् । 

 

नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले बाह्य मुलुकमा रहेका नेपालीहरुको सीप र धनलाई राष्ट्र निर्माणमा उपयोग गराउनका लागि राजदुतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । उनले भूतपूर्व गोरखा सैनिकहरुको माग सम्बोधन गराउन पनि बेलायतका लागि प्रस्तावित राजदूत आचार्यले भूमिका खेल्नुपर्ने बताएका छन् ।

 

नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले नेपाली राजदूतहरुले राष्ट्रकै प्रतिनिधिको रुपमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । उनले संसदमा हुने राष्ट्रकै चासोको विषयमा पनि नेपाली राजदुतहरुले चासो लिएर राष्ट्रिय हितमा तत्काल दृष्टिकोण बनाउनुपर्ने बताएका छन् ।

 

नेकपा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङले राजदुतहरुले आर्थिक कूटनीतिमा जोड दिएर परराष्ट्र सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने बताएका छन् । उनले राष्ट्रिय स्वाधीनताको रक्षाको विषयलाई राजदूतहरुले मूल विषय बनाएर अघि बढनुपर्ने खाँचो समेत औंल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै