Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

रेनुले जिते गठबन्धन २० वर्षसम्म लैजान्छुः प्रचण्ड 

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरका कांग्रेस कार्यकर्ताले स्थानीय तह निर्वाचनमा हसियाँ हथौडामा भोट हालेमा गठबन्धन २० वर्षसम्म लैजाने बताएका छन् । 

 

बिहीवार चितवनको भरतपुरमा सत्तारुढ पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भोट नहालेमा भने देश दुर्घटनामा जान सक्ने बताए । उनले गठबन्धन राष्ट्रको आवश्यकता भएको उल्लेख गर्दै यसलाई अगाडि बढाउने, नबढाउने फैसलाको अधिकार चितवनबासीको हातमा रहेको बताए । 

 


अध्यक्ष दाहालले आफूलाई आशंका गरेर गठबन्धन कमजोर पार्न नखोज्न आग्रह पनि गरे । उनले त्यसको जवाफ गठबन्धनको विरोधमा भाषण गरेर हिँड्नेहरुले दिनुपर्ने बताए । उनले आगामी दिनमा पनि शेरबहादुर देउवालाई अगाडि राखेर अगाडी बढ्न अप्ठ्यारो नमान्ने बताए । 

 


एमालेका नेताले पुनः मिल्न आग्रह गर्ने गरे पनि आफुले अब सो गल्ती नदोहोर्‍याउने स्पष्ट पारे । 

 


उनले चितवनको विकासलाई मोडेल बनाएर नेपालकै विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए । भरतपुर महानगरपालिकाले गएको पाँच वर्षमा आफ्नो प्रतिवद्धता अनुसारको काम  इमान्दारीता साथ गरेको प्रचण्डको भनाइ छ । 

 


कार्यक्रममा बोल्दै नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई नोक्सानी हुनेगरी नलाग्न आग्रह गरेका थिए । उनले गठबन्धनबाट सबै दललाई केही न केही फाइदा पनि भएको र खोजेको जस्तो पनि नभएको बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै