
प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनको उम्मेदवार रेनु दाहाललाई निर्वाचनमा जिताउन आग्रह गरेका छन् ।
बिहीवार चितवनको भरतपुरमा सत्तारुढ पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देउवाले दाहालले महानगरमा राम्रो काम गरेको भन्दै उनलाई जिताउनुपर्ने बताए । उनले यसअघि नै मेयरमा उनले जित हात पारिसकेकाले गठबन्धनको तर्फबाट उनको उम्मेदवारीलाई लिएर बखेडा गर्न नहुने उनको भनाइ छ।
देउवाले देशमा गठबन्धन आवश्यक रहेको बताए । उनले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै भरतपुरबाट गठबन्धन टुट्न नदिन आग्रह गरे ।
उनले भने, ‘रेनु हुँदैन भन्नुहुन्छ । यस्तो काम गर्ने मान्छे नभए हो हुन्छ त यहाँ ? उहाँ आफै जितिसक्नुभयो, जित्नुहुन्छ । अनि हामीले त्यसमाथि आड नलगाउने ?’
प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस गठबन्धनको
पक्षमा रहेको बताए । उनले नेपाली कांग्रेसको महाधिवेशनबाट ८२ प्रतिशत मतका साथमा आफू सभापति निर्वाचित भएको स्मरण गर्दै गठबन्धनका प्रति जनताको भरोसाका कारणले नै आफू सभापतिमा निर्वाचित भएको दाबी गरे ।
उनले भरतपुरमा रेनु दाहालले गरेका विकास निर्माणका कामका कारण काठमाडौंमा भन्दा जग्गा महँगो भएको बताए । दाहाललाई कुनै पनि शंका नहुने स्थितिबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी कांग्रेसको प्रतिस्पर्धी नभएको बताए । भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल पक्षहरु आफ्नो तर्क सुन्न नचाहेको र इमोशनमा, भावावेशमा, एउटा उत्तेजनामा उम्मेदवारी दिएको उनको आरोप छ ।
वरिष्ठ नेता पौडेलले काँग्रेसको अहिलेको प्रतिष्पर्धा एमालेसँग भएको र ओली प्रवृतिसँग आफ्नो असहमति र द्वन्द्व रहेको दाबी गरे ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit