
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका शीर्ष नेताहरुले मंसीर अघिनै संघीय संसदको चुनाव हुन सक्ने बताएका छन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने आगामी मंसीर अघिनै संघीय संसदको चुनाव गर्ने बताएका हुन् ।
नेपाल निजामती कर्मचारी युनियन, केन्द्रिय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै वरिष्ठ नेता पौडेलले संसद सुचारु नहुने हो भने चाँडै संघीय संसदको निर्वाचन गराउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको बताए । उनले देशलाई अलमलमा राख्न नदिन पनि संसद नचले नयाँ संसदका लागि निर्वाचनमा छिटो जानुको विकल्प नरहेको तर्क गरे ।
वरिष्ठ नेता पौडेलले भने, ‘मैले त प्रधानमन्त्रीलाई भनि सके–चाँडै संसद सूचारु गर्नु प¥यो वा चाँडै संसद ल्याउनुप¥यो । अव यस्तो अलमलमा राख्नु हुँदैन देशलाई । म सबैलाई के भन्न चाहन्छु भने–एमसीसी पास गरिएको छ । यसले मुलुकको विकास र समृद्धिले फड्को मार्नेछ । तर नेपाली जनतालाई यसबारे बुझाउन सक्नुपर्दछ ।’
महामन्त्री थापाले एमालेले संसद चल्न दिएन भने मंसीर अघिनै संघीय संसदको निर्वाचन हुने र आफ्नो पार्टीले बहुमत ल्याएर पाँच वर्ष मुलुक शानदार ढंगले चलाउने बताए । उनले स्थानीय तहको निर्वाचन बैशाख ३० गते नै हुने बताए ।
महामन्त्री थापाले भने, ‘बैशाख ३० गते स्थानीय तहको निर्वाचन गराउने हो । त्यसपछि आम चुनाव हुन्छ । एमालेले संसद चल्न दिएन भने मंसीर अघि नै चुनाव हुन सक्छ । हामी निर्वाचनमा जाने हो । शान्दार ढंगले बहुमत ल्याएर पाँच वर्ष मुलुक चलाउने हो ।’
कार्यक्रममा बोल्दै काँग्रेस उपसभापति धनराज गुरुङले आफ्नो पार्टी निर्वाचनतर्फ लम्किएको उल्लेख गर्दै एक्लै निर्वाचनमा लडने संकेत गरे । प्रचण्ड, माधव नेपालहरुलाई चमेराको संज्ञा दिँदै उनले उनीहरुले साथ छोड्दैमा आफ्नो पार्टीलाई निर्वाचनमा केही फरक नपर्ने बताए ।
उनले भने, ‘यो चुनावी वर्ष हो । यो चुनावी मैदानमा काँग्रेसरुपी हात्ती लम्कदै गर्दाखेरी हात्तिको ठूलो कान देखेर चमेराहरु ओत लाग्न खोज्दैछन । हात्तिको कानमा ओत लाग्ने चमेराहरुको भरोसा हुँदैन भन्ने कुरा हामीलाई राम्रैसँग थाहा छ । चमेराले हात्तिलाई सहयोग गर्न सक्दैन । दूर्गन्धित बनाउन सक्दछ, हात्तिको कानमा । त्यसैले हाम्रो रोडम्याप एकदम स्पष्ट छ । यही रोडम्याप अनुसार नेपाली काँग्रेसरुपी हात्ति अगाढि बढछ । मुसाले बोटो काट्दैमा केही फरक पर्दैन ।’
अर्का महामन्त्री विश्वप्रकाश शर्माले रुपान्तरित काँग्रेसनै मुलुकको भरोसा भएको दावी गरे । उनले मुलुकको समृद्धिका लागि काँग्रेस एकतावद्ध हुने र मुलुकलाई विकल्प दिनेगरी अघि बढने संकल्प पनि गरे । महामन्त्री शर्माले भने, ‘रुपान्तरिक भएको काँग्रेस मुलुकको भविष्य हो । यही पुरानो काँग्रेसलाई रुपान्तरित गरेर मुलुकलाई विकल्प दिने हो । किनभने काँग्रेस नै मुलुकको भरोसा हो ।’
काँग्रेस महामन्त्री शर्माले लोकतन्त्रको सवाल, मुलुकको विकास र समृद्धिको सवालमा काँग्रेस एकतावद्ध भएर अघि बढछ भन्ने कुरा संसदबाट पारित गरिएको एमसीसीले पनि देखाएको स्मरण गराए । उनले गुटको पछि लागेर पार्टीलाई कमजोर बनाउन काम गर्न नहुने पनि बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit