
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरुले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन् । पार्टी निकट पत्रकारहरुको संगठन प्रेस चौंतारी नेपालको २४ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले श्रीमानहरुले बनाएको वर्तमान सरकारले संविधान र कानुन उलंघन गर्ने धृष्टता गरिरहेको आरोप लगाएका छन् ।
‘गठबन्धनकारी सरकार छ । यस्तो सरकार जुन सरकार गठन गर्न पार्लियामेन्टले चिनेन्, देखेन, थाहा पाएन । श्रीमानहरुले बनाए । श्रीमान्हरुले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्री, यस्तो खालको सरकारले संविधानमा किटानी गरिएको व्यवस्थालाई उलंघन गर्ने धृष्टता गर्दैछ । कानुनलाई उलंघन गर्ने धृष्टता गर्दैछ । संविधानले किटानी गरेको व्यवस्थालाई उलंघन गर्ने धृष्टता गर्दैछ । यसको बारेमा बोल्नु पर्छ कि पर्दैन ? बोल्नुपर्छ । यदि यो स्थानीय तहको निर्वाचन कानुन र संविधानले तय गरेको समयमै हुँदैन भने त्यसको विरुद्धमा देशव्यापी रुपमा जन परिचालन हुन्छ । मुलुकको संविधान र कानुनको रक्षाका लागि यो काम गर्नु पर्दछ’ उनले भने ।
उनले सरकारले संविधान र कानुन विपरित काम गरे सञ्चार माध्यामहरुले पनि विरोध गर्नुपर्ने बताएका छन् । उनले पार्टी निकट सञ्चारकर्मीहरुलाई पार्टीको विचार प्रवाह गर्न र सही सूचना जनतामा पु¥याउने काममा केन्द्रित हुन आग्रह गरेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit