
भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपाली व्यवसायीले मारमा परेको गुनासो गरेका छन् । काठमाडौँको नयाँ सडक क्षेत्रमा देखिएको फूलको व्यापारमा अधिकांश भारतीय फूल देखिएको छ ।
भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म विक्री हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको किसान व्यापारीले गुनासो गरेका छन् ।
काठमाडौँमा लक्ष्मी पूजा र गोबर्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलहरुको विक्री धेरै हुने गर्छ । कात्तिक पहिलो साता देशभर परेको बेमौसमी वर्षाले मुख्य कृषि बाली सँगै फूल खेतीमा पनि क्षति गरेको थियो ।
वर्षाले देशभर लगाइएको र बिक्रीका लागि तयारी अवस्थामा रहेका फूलमा धेरै क्षति भयो । काठमाडौँ उपत्यका वरिपरिका साथै तराईका विभिन्न क्षेत्रमा ब्यबसायिक रुपमा फूलको खेति हुने गरेको छ ।
फूल बेच्नका लागि काठमाडौंमा छिमेकी जिल्लाहरु नुवाकोट,धादिङ, काभ्रेपलाञ्चोकबाट किसान तथा व्यापारी आउने गर्छन् । काठमाडौंको नयाँ सडकमा फूल बेच्ने र किन्नेहरुको अत्याधिक भिडभाड देखिए पनि नेपाली किसान ब्यापारी भने निराश देखिएका छन् ।
वर्षेनी तिहारको समयमा काठमाडौंमा आई फूल बेच्दै आउनुभएका धादिङका अशोक अधिकारीले यस वर्ष भारतबाट फूल अत्यधिक आएका कारण नेपाली फूलले उचित मूल्य नै नपाएको गुनासो गरे ।
यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले गर्ने अनुमान गरिएको थियो । तर बेमौसमी वर्षाको कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भएपछि भारतीय फूलले बजारमा कब्जा जमाएको छ । कोरना संक्रमणको जोखिम कम भएको र मानिसहरुले उल्लासमय तरिकाले तिहार मनाउने हुँदा माग बढ्ने अनुमान गरिएको थियो ।
गत वर्षको तुलनामा ५ लाख बढी मालाको माग बजारमा आउने अनुमान गरिएको छ । नेपालमा वार्षिक रूपमा करिब ३ अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुँदै आएको विभिन्न अध्ययनले देखाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit