Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

वंशवाद र जनतालाई हेप्दा काठमाडौंमा नेताको टाउकोमा लौरो बजारियोः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गरेका छन् । 

 

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र एमालेले जनताले चाहेको विपरीत उम्मेदवार खडा गरी जनतालाई हेपेका कारण राजनीतिक दल महानगरको प्रमुख बन्न नसकेको बताएका हुन् । 

 

शनिबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले काठमाडौं महानगर पालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको बताए । प्रमुखका उम्मेदवारहरुको कार्यक्षमताको समय सकिसकेकोले जनताले राजनीतिक दलहरुले गरेको निर्णयलाई लत्याएको बताए । 

 

वरिष्ठ नेता पौडेलले आफूले कामनपा प्रमुखको उम्मेदवारका रुपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारे पनि निर्णयकले नमान्दा राजनीतिक दल हार व्यहोर्न बाध्य भएको बताए । कांग्रेसको नेतृत्व पंक्तिले वंशवादको आधारमा उम्मेदवारी दिएको भन्दै उनले जनताले त्यसको सजाय नेताको टाउकोमा लौरो लगाइदिएको बताए । 

 

‘राजनीतिक दलहरुले जनतालाई हेपेर निर्णय गर्नुहुँदैन । कांग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका नेताले पनि । एमालेका नेताले जुन निर्णय गरे त्यो पनि जनतालाई हेपेकै निर्णय थियो । किनभने जुन उम्मेदवारलाई अघि सार्नुभयो उहाँहरु उपयुक्त थिएनन् । आउटेडेट भइसकेका थिए । अहिले कांग्रेसले जे गरेको थियो त्यो पनि उपयुक्त थिएन । ती भन्दा उपयुक्त धेरै मान्छेहरु थिए,’ पौडेलले भने ।

 

‘मैले त्यही बेला भनेको थिएँ, महिला दिने हो भने हरिप्रभा छँदैछिन्, उपमेयरमा राम्रो काम गरेकी थिइन् । पुरुष दिने हो भने तीर्थ डंगोल छँदैछन् । भनेको थिएँ । त्यस्ता राम्रा मानिसहरु थिए । उम्मेदवारी दिँदा नै वंशवादको आधारमा जो दिइयो त्यो गलत भयो ।  जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा । मैले त्यतिबेला पनि भनेको हो, मेरो केही लागेन । म निर्णायक ठाउँमा होइन । पार्टी सभापति नै निर्णायक हुन्छ । उहाँले इसारा गरेपछि मुख्यसचिवले टिकट पठाइसक्छ, म यहाँ छलफल गरिराखेको हुन्छु । त्यस्तो अतितमा पनि भएको छ । त्यसको परिणाम गत चुनावमा पनि भोगेकै हो । त्यस्ता कुरा फेरि पनि दोहो¥याउने हो भने के हुन्छ भन्न सकिँदैन । यस्ता घटनाबाट नेतृत्वले अब सिकेर सही किसिमको जनताले रुचाउने उम्मेदवार पार्टीले प्रस्तुत गर्नुपर्छ । पार्टी भन्दैमा जनताले मान्छन् भनेर मूर्ख निर्णय गर्नु हुँदैन,’ उनले भेन ।

 

वरिष्ठ नेता पौडेलले आगामी दिनमा पनि यस्तै गल्ती नेतृत्व पंक्तिले गरिरहने हो भने नेपालको राजनीति यस्तै हुन्छ भन्न नसकिने बताए । यस्ता घटनाबाट पाठ सिकेर राजनीतिक दलहरुले जनताले रुचाउने उम्मेदवार उठाउनु पर्ने भन्दै उनले पुनः मूर्ख निर्णय गरेर राजनीतिक दलको अपमान गर्नुनहुने बताए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै