Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

पार्टी महाधिवेशनको निर्णयअनुसार एमसीसी पारित : माओवादी

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले एमसीसी पार्टी महाधिवेशनको निर्णयअनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन् । 

 

शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै नेताहरुले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसदबाट पारित भएको बताएका हुन । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य वामदेव क्षेत्रीले व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी पास गर्नु उचित भएको बताए ।

 

उनले नेपालीहरुले अमेरिकालाई साम्राज्यवाद र भारतलाई विस्तारवादी देख्ने कोण बदलेर अघि बढ्नुुपर्ने धारणा राखे । केन्द्रीय सदस्य क्षेत्रीले पदाधिकारीको बारेमा पार्टीमा ठूलो झमेला नरहेको पनि स्पष्ट पारे । 

 

‘एमसीसीको बारेमा पहिल्यै नेकपा हुने बेलामा पनि हामीले एउटा कमिटी बनाएका थियाँै झलनाथ खनालको नेतृत्वमा । त्यसले सुझाव दिएको थियो । माओवादी पार्टीले एमसीसी संशोधन बिना यथास्थितिमा पास गर्नुहुन्न भनेर हामीले अधिवेशन पनि पास गरेको स्थिति हो । अहिले जसरी बहस उठ्यो गठबन्धन भित्र त्यसलाई हामीले धेरै कोणबाट छलफल ग¥यौं । व्याख्यांससहित भनेको अन्तर्राष्ट्रिय सन्धि, नियमानुसार, व्याख्यांशलाई स्वीकार गरेमात्र नै त्यसलाई लागू हुनसक्ने, त्यो भएन भने ३० दिनभित्रमा त्यसलाई लागू नहुनसक्ने प्रावधानलाई हामीले धेरै छलफल ग¥यौं । अहिले सदनले त्यसलाई पास गरेको छ,’ उनले भने ।

 

‘एकथरि साथीहरुले त्यसलाई बिरोध गरिरहनु भएको छ । नेपालीहरुको एउटा सोच कस्तो भयो भने हामी अमेरिकालाई सधैँ साम्राज्यवाद देख्ने, भारतलाई सधैँ बिस्तारवाद देख्ने कोण जो बन्यो, त्यसले गर्दा थुप्रै सम्झौताहरु विश्व बैंकका सम्झौताहरुसँग यूएनडिपीका सम्झौताहरु, जायिका, एशिया डेभलपमेण्ट बैंकका सम्झौताहरु छन् । केही न केही सम्झौता नगरी हामीले गरेका छैनौँ । अमेरिकाकै गर्न हुँदैन भन्ने पक्षमा हामी छैनौँ । त्यही रुपमा हामीले छलफल अघि बढाएका छौँ र व्याख्यात्मकसहतिको एमसीसी पारित गरेका छौँ । अमेरिकाले पनि स्वीकार गरेको छ । यो ठीक हो भन्ने लागेको छ । पदाधिकारीको बारेमा हाम्रो ठूलो अड्चन झमेला छैन,’ क्षेत्रीले भने ।

 

त्यस्तै पार्टी केन्द्रीय सदस्य नारायण दाहालले महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन नभनेको स्पष्ट पारे । उनले संशोधनपछि एमसीसी पास गर्नसक्ने कुरा महाधिवेनले निर्णय गरेको र सोही अनुसार नै एमसीसी पास भएको दाबी गरे । 

 

केन्द्रीय सदस्य दाहालले सुरुमा आएको एमसीसीको ठोस र मूर्त रुप अहिलेको व्याख्यात्मक घोषणाले संशोधन गरेर दिएको बताए । उनले व्याख्यात्मक घोषणाबाट पास गरिएको एमसीसीलाई अमेरिकाले स्वीकारे मानो खोज्दा पाथी फेला पर्ने टिप्पणी गरे । पदाधिकारीको विषयमा भने जतिसक्दो चाँडो टुंगो लगाउन आवश्यक रहेको उनको भनाइ छ ।

 

केन्द्रीय सदस्य कुमार पौडेलले व्याख्यात्मक घोषणासहित सदनबाट पास भएको एमसीसी पार्टीको मूल्य र मान्यता बमोजिम रहेको बताए । उनले पार्टी एकता र गठबन्धनको रक्षा गर्न पनि एमसीसी पारित गर्नु व्यावहारिक भएको उल्लेख गरे । 

 

पौडेलले व्याख्यात्मक घोषणासहित पास भएको एमसीसीले देशलाई अँध्यारोमा जानबाट रोकेको बताए । उनले सहमतिको आधारबाट पदाधिकारी चयन हुनुपर्ने र सम्भवतः आज नै त्यसको टुंगो लाग्ने पनि बताए ।

 

अर्का केन्द्रीय सदस्य लेखनाथ दाहालले १२ बुँदे व्याख्यात्मक घोषणा परिमार्जनकै अर्को रुप भएको बताए । उनले व्याख्यात्मक घोषणासहितको पासले केही समस्या समाधान गरेको भन्दै राष्ट्रहित विपरितका मुद्दाहरु संशोधन गरेर नै व्याख्यात्मक घोषणा पास गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै