Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

पाटन–जावलाखेल–पुल्चोक धूमपान निषेधित क्षेत्र

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको हो । 

 

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहेपनि कोरोनाको कारण सफल हुन नसकेको बताए ।  उनले आजबाट लागू हुनेगरी शुरु भएको धूमपान निषेधित क्षेत्रमा शुरुवाती सात दिन धुम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिबाना तिराउने बताए । जरिबानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने प्रतिवद्धता पनि उनले जनाएका छन् ।  

 

मेयर महर्जनले भने, ‘यो आउटस्ट्याण्डिङ कार्यक्रम हो । नेपाल सरकारले घोषणा गर्छ तर कार्यान्वयन गर्दैन । तसर्थ आज हामीले यो कार्यक्रम शुभारम्भ गरेका छाँै । दुई वर्ष अघि नै लञ्च गर्ने कार्यक्रम थियो तर कोरोना भाइरसका कारण सफल हुन सकेनौँ । स्मोकिङ किल्स भन्ने जुन भनाइ छ यो शतप्रतिशत करेक्ट छ । अहिले हामीले जावलाखेल, पुलचोक र पाटन दरबार स्क्वाएर क्षेत्रमा यो कार्यक्रम लागू गर्न गइरहेका छौँ । हामी यसलाई सफल पारेरै छोड्छौँ । शुरुवाती ७ दिन हामी चुरोट नखानुस् भन्छौँ त्यसपछि जरिबाना तिराउँछौँ । त्यो जरिबाना क्यान्सर रोगीलाई नै सहयोग गर्नेछौँ ।’

 

मेयर महर्जनले सरकारले विभिन्न कानून तर्जुमा गरेपनि कार्यान्वयन नगरेको दावी गर्दै  महानगरपालिकाले भने लापरबाही नगरी कार्यक्रम सफल बनाउने प्रतिवद्धता जनाए ।


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै