
म्याग्दी नदीमा मादपदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन भइरहेपछि अख्तियारले चासो बढाएको छ ।
म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदी बगरमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशनरप्रशारण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको हो ।
बगर उत्खननको जिम्मा पाएका ठेकेदारले मापदण्ड मिचेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरेको समाचार प्रकाशित भएपछि आयोगको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको हो । मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको पाइएको अनुगमन टोलीका एक सदस्यले बताए । नगरपालिकासँगको सम्झौता अनुसार बगरमा तीन हजार ७४२.२० घनमिटर उत्खनन गर्नुपर्नेमा ९३ सय घनमिटर उत्खनन भएको पाइएको उनले बताए । मापदण्ड अनुसार ९० सेन्टिमिटर गहिराईसम्म उत्खन्न गर्ने सम्झौता भएकोमा सरदर १ दशमलव ६ मिटर गहिरो बनाइएको छ ।
यस्तै अर्को सजेनी बगरमा पनि मापदण्डविपरीत नदी उत्खनन गरेको पाइएको छ । सतहदेखि १७ घनमिटर उत्खनन गर्ने सम्झौता भएकोमा दुई हजार एक सय घनमिटर उत्खनन भएको पाइएको छ ।
‘मापदण्ड र सम्झौता विपरीत नदी उत्खनन भएको भनेर सूचना आएपछि अख्तियारको टोलीले स्थलगत अनुगमन गरको हो । मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गरेबापत के कारवाही गर्ने भन्ने विषयमा अनुगमन टोलीले रिपोर्ट बुझाएपछि मात्र निर्णय हुन्छ’ आयोगको पोखरास्थित कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालले भने ।
स्काभेटर प्रयोग गरी नदीको धार परिवर्तन गराई ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन गर्दा तटीय क्षेत्रमा बाढी, कटानको जोखिम बढेको, राजस्व गुमेको, जलचरको बासस्थान र वातावरणमा असर पुगेको छ । अनुगमनमा बेनी नगरपालिकाका कर्मचारीको समेत सहभागिता थियो । टोलीले अन्य बगरमा पनि अनुगमन गरेको थियो ।
सरकारको नदीजन्य बस्तु उत्खननसम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिबेदन र बेनी नगरपालिकासँग भएको सम्झौता विपरीत निर्माण कम्पनीले एक्साभेटर प्रयोग गरेर तोकिएभन्दा गहिरो खाडल बनाएर उत्खनन गरेको सोमबार अनुगमन गरेको समितिले जनाएको छ । बगरबाट सम्झौताभन्दा बढी परिणाममा उत्खनन भएको अनुगमन समितिले ठहर गरेको छ । नदीजन्य बस्तुको उत्खननमा एक्साभेटरलगायत ठूला उपकरण प्रयोग गर्न नपाउने कानुन छ ।
नगरपालिकासँगको सम्झौताअनुसार ठेकेदार कम्पनीले नगरपालिका–७ को अग्निखेत बगर, वडा नं–६ डम्मरा, जोगिगाडे बगर, चुत्रेनी बगर तल्लो, चुत्रेनीकै बगर माथिल्लो, वडा नं ५ को बगुवा खोला, सोही वडाको सजेनी बगर, वडा नं ३ को दूधखोला कोप्रे बगर र वडा नं २ को घुमाउने ताल बगरमा नदीजन्य पदार्थ उत्खननको अनुमति पाएका छन् ।
म्याग्दी नदीको नौ वटा बगरबाट १७ हजार ७६० दशमलब १५ घनमिटर नदीजन्य बस्तु उत्खनन र निकासीका लागि न्यूनतम ४३ लाख ८६ हजार ४६ दशमलब ६४ मूल्य राखेर ठेक्का आह्वान गरिएको थियो । ४४ लाख कबोलेको बागलुङको जुम्ली निर्माण सेवाले पुस २३ गते सम्झौता गरेको थियो ।
त्यस्तै, कम्पनीका प्रतिनिधि नीराजन खतिवडाले अलपत्र सडक आयोजनालाई आवश्यक नदीजन्य बस्तुको सहज आपूर्तिका लागि सरोकारवालासँग समन्वय गरेर उपकरणको प्रयोग गरेको दाबी गरे ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit