Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न

ऐतिहासिक तथा पूरातात्त्विक महत्त्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।

 

शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो । वि.सं २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र यस पटक भने देशका विभिन्न स्थानहरुबाट ल्याइएका काठहरु काष्ठमण्डप बनाउनका लागि प्रयोग गरिएको समितिका अध्यक्ष तथा वागमती प्रदेशका सांसद राजेश शाक्यले बताएका छन् । 

 

उनको अनुसार अब काष्ठमण्डपलाई एउटै रुखको काठबाट बनेको भन्न मिल्दैन । उनले भूकम्पअघिको संरचनामा प्रयोग भएका काठ पाँचौं शताब्दीका भएको तर काष्ठमण्डप सातौं शताब्दीमा निर्माण गरिएको बताएका छन् । उनले अब चाँडै नै काष्ठमण्डपको उद्घाटन गर्ने मिति सार्वजनिक गर्ने पनि बताएका छन् ।

 

‘काष्ठमण्डपको सबै काम सकिएको छ, यसको पुनर्निर्माण भइसकेको छ, यसको अब पहिलाको बार मात्रै राख्न बाँकी छ, काष्ठमण्डप सबै जनमानसको पनि चासोको विषय हो । उद्घाटनतिर लाग्ने कुरा पनि आइरहेको छ, अब हामी यसको उद्घाटको पनि तिथिमिति तोक्नेछौँ । हामीले यसको निर्माण गर्दा समुदायसँग मिलेर आज काष्ठमण्डप सातौँ शदाब्दीको प्रयोग गरिए पनि गारोमा थप थाम राखिएकोले सबल छ, नेपालको प्रविधिले यो बनाउन सकेको ठूलो उदाहरण हो । चीन, कोरिया, जापानले मात्रै बनाउन सक्छ भन्ने कुरालाई चिर्दै नेपालले पनि बनाउन सक्छ भन्ने कुराको विकास भएको छ । बनाएर देखाएको छ, अब नेपालीहरुलाई बनाउन अवसर आउनेछन् भन्ने सोचेको छु’ उनले भने ।

 

उनले पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा अहिले काठबाहेक ढुङ्गा, माटो, इँटा, तामा लगायतका सामग्रीको प्रयोग गरिएको बताएका छन् । उनले काष्ठमण्डपको बीचमा रहेको गोरखनाथको प्रस्तर मूर्ति नयाँ निर्माण गरिएको पनि बताएका छन् । 

 

चालु आर्थिक वर्ष ०७७/०७८ मा यस वर्ष काष्ठमण्डप पुनर्निर्माणमा ३ करोड ५६ लाख ६१ हजार १ सय २४ रपैयाँ ६० पैसा आम्दानी भएको छ भने गत वर्ष ३ करोड ५२ लाख ८१ हजार ३७ रुपैयाँ ६४ पैसा अनुदान प्राप्त भएको थियो । त्यस्तै, खर्चमा भने प्रशासनिक खर्चतर्फ यस वर्ष १८ लाख ८३ हजार ९६७ रुपैयाँ ०७ पैसा र गत वर्ष १५ लाख ४८ हजार ८४९ रुपैयाँ २१ पैसा खर्च भएको थियो । 

 

त्यस्तै, निर्माण खर्च यस वर्ष ३ करोड ३७ लाख ७७ हजार १५७ रुपैयाँ ५३ पैसा खर्च भएको छ भने गत वर्ष ३ करोड ३७ लाख ३२ हजार १८८ रुपैयाँ ४३ पैसा खर्च भएको थियो । त्यस्तै, जम्मा खर्च गत वर्ष ३ करोड ५२ लाख ८१ हजार ३७ रुपैयाँ ६४ पैसा र यस वर्ष ३ करोड ५६ लाख ६१ हजार १२४ रुपैयाँ ६० पैसा खर्च भएको समितिले जनाएको छ ।

 

काष्ठमण्डप पुनर्निर्माणका लागि ११ करोड ५० लाख विभिन्न निकायबाट अनुदान सहायता प्राप्त भएको थियो भने यसको पुनर्निर्माणमा करिव ११ करोड ३९ लाख खर्च भएको पनि उनले बताएका छन् ।
 

प्रतिक्रिया

109
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै